सेयर बजारमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो । सोमबार नेप्से परिसूचक २०.२७ अंक घटेर २७३५.१४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घट्दा वित्त उपसमूह मात्र सामान्य रूपमा बढेको छ। व्यापार उपसमूह सबैभन्दा बढी १.७७ प्रतिशतले घटेको छ भने विकास बैंक र अन्य उपसमूहमा पनि एक प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । आजको बजारमा ४ अर्ब ८ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । गत शुक्रबार ५ अर्ब ६२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
आज पनि कालिञ्चोक हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ भने सोपान फर्मास्यूटिकल्सको सेयरमूल्य १० प्रतिशत बढेको छ । कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ७.१४ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमाआज सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २० करोड ४६ लाख २९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, यस दिन ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर २०८८ को १७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
सोमबार कारोबारमा आएकामध्ये ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२२ कम्पनीको घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।