स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको २३ अर्ब ४४ करोड रुपैयाँ बक्यौता भुक्तानी
बोर्डले आज जारी गरेको विज्ञप्तिअनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बक्यौताबापत उपलब्ध गराउनुपर्ने रु २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १५ भुक्तानी गरिएको हो ।
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु आर्थिक वर्षको मङ्सिरसम्मको बक्यौता रकम भुक्तानी गरेको छ ।
बोर्डले आज जारी गरेको विज्ञप्तिअनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बक्यौताबापत उपलब्ध गराउनुपर्ने रु २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १५ भुक्तानी गरिएको हो । बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सबै सेवा प्रदायक संस्थाको गत मङ्सिर महिनासम्मको दाबी बक्यौता फरफारक गरिएको छ ।
गत पुस महिनापछिको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बोर्डले जनाएको छ । बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचार सेवामा कुनै अवरोध नगरी निर्धारित मापदण्डअनुसार गुणस्तरीय सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।
त्यसैगरी बीमित सेवाग्राहीलाई उपलब्ध सेवाको जिम्मेवारीपूर्वक उपयोग गर्न र अनावश्यक परीक्षण तथा सेवा माग नगर्न अनुरोध गरिएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न सहयोग गर्न बोर्डले आह्वान गरेको छ ।
