२० अर्बको एकवर्षे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
केन्द्रीय बैंकले आज सोमबार २० अर्ब रूपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ जारी गर्ने भएको हो । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्छन् ।
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको एकवर्षे अवधिको ऋणपत्र जारी गर्न लागेको छ । केन्द्रीय बैंकले आज सोमबार २० अर्ब रूपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ जारी गर्ने भएको हो ।
यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्छन् । आज मध्याह्न ३ बजेसम्म अनलाइनबाट ब्याजदर र आफूले लिन चाहेको ऋणको लागि बोलकबोल पेश गर्नुपर्ने छ । बोलकबोलका माध्यमबाटै ऋणपत्रको ब्याजदर निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।
ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ ।ऋणपत्रको साँवा भुक्तानी २०८४ असार २२ गते हुनेछ भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।