वाणिज्य बैंकहरुले ११ महिनामा कमाए साढे ६४ अर्ब नाफा, नबिल अग्रस्थानमा हुँदा अरुको कति?

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ६४ अर्ब ५६ करोड ३६ लाख ८० हजार रुपैयाँ नाफा कमाएका हुन् ।

काठमाडौँ । वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म आइपुग्दा बैंकहरुको नाफा १९ प्रतिशतले बढेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ६४ अर्ब ५६ करोड ३६ लाख ८० हजार रुपैयाँ नाफा कमाएका हुन् । गत आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । जेठसम्म १४ बैंकले नाफा बढाउँदा ६ बैंकको खुम्चिएको छ। 

जेठसम्ममा सबैभन्दा बढी नाफा कमाउनेको पहिलो नम्बरमा नबिल बैंक रहेको छ । नबिलले जेठसम्म ८ अर्ब ४९ करोड नाफा आर्जन गरेको छ । यस्तै, बढी नाफा कमाउनेको दोस्रोमा रहेको ग्लोबल आईएमई बैंकले यही अवधिसम्ममा ५ अर्ब ९७ करोड नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा नाफामा दोस्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकको नाफा ०.९६ प्रतिशतले घटेर ५ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा भने कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडी देखिएका छन् । कुमारीको नाफा ११६८ प्रतिशतले बढेर ४ अर्ब ७० करोड पुगेको छ भने राष्ट्रिय वाणिज्यको ६८ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको हो ।

जेठ मसान्तसम्मको अवधिमा क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २१ प्रतिशतले घटेर ४ अर्ब ४९ करोड, एभरेष्ट बैंकको २ प्रतिशतले घटेर ४ अर्ब १२ करोड, प्राइम बैंकको २९ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड, एनएमबि बैंकको १९।७८ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड, नेपाल बैंकको ८ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । हिमालयन बैंक र एनआईसी एशिया बैंकको नाफा भने सबैभन्दा कम रहेको छ ।