शोधनान्तर स्थिति दोब्बरले बढेर पुग्यो सवा ९ खर्ब, देशको ढुकुटीमा ३७ खर्ब ५५ अर्ब संञ्चिती
१९ महिनाको आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति, प्रत्यक्ष वैदेशिक लगानी २२ अर्ब ८२ करोड
२०८२ असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि भई २०८३ जेठमा ३७ खर्ब ५५ अर्ब ६४ करोड रूपैयाँ पुगेको हो ।
काठमाडौं । चालू वर्षको ११ महिनामा मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर बचत उच्च दरले बढेको छ । चालु आर्थिक वर्ष २०८२र८३ को ११ महिना (साउन-जेठ) सम्म शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोडले बचत छ । जुन गत आर्थिक वर्ष २०८१र८२ को तुलनामा दोब्बर बढी हो । निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति-संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ११ महिनामा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रूपैयाँ बचतमा थियो । शोधनान्तर स्थितिे अमेरिकी डलरमा भने ६ अर्ब ३९ करोड बचतमा छ । गत वर्ष जेठमा भने डलरमा शोधनान्तर स्थिति ३ अर्ब ६२ करोडले बचतमा थियो । रेमिट्यान्स प्रवाहमा भएको उच्च वृद्धि (३८.२ प्रतिशत) ले विदेशी मुद्रा सञ्चितिलाई ऐतिहासिक उचाइमा पुर्याउन मुख्य योगदान गरेको देखिन्छ।
शोधनान्तर बचत भए वाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भए विदेशी मुद्रा वाह्य प्रवाह बढी हुन जान्छ । शोधनान्तर खाताले चालु खाता र पूँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ । नेपालका हकमा रेमिट्यान्स आप्रवाह उल्लेख्य हुँदा त्यसको सकारात्मक प्रभाव शोधनान्तर स्थितिमा पर्ने गरेकेा छ ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता ८ खर्ब २ अर्ब ६ करोडले बचतमा छ । अघिल्लो वर्ष यस्तो बचत ३ खर्ब २१ अर्ब ७४ करोड रूपैयाँ थियो । अमेरिकी डलरमा चालु खाता ५ अर्ब ५३ करोडले बचतमा छ । यस अवधिमा खुद ट्रान्स्फर १७ अर्ब ३ करोड छ । त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी २२ अर्ब ८२ करोड भित्रिएको छ ।
मुलुकको बाह्य क्षेत्र बलियो बन्दै जाँदा कुल विदेशी विनिमय सञ्चिति (देशको ढुकुटी) मा उल्लेखनीय सुधार आएको छ । २०८२ असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि भई २०८३ जेठमा ३७ खर्ब ५५ अर्ब ६४ करोड रूपैयाँ पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असारको १९ अर्ब ५० करोडको तुलनामा २६.५ प्रतिशतले वृद्धि भई २४ अर्ब ६८ करोड डलर पुगेको छ ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ३७.९ प्रतिशतले बढेर ३३ खर्ब ३० अर्ब ७ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको सञ्चिति ६१.८ प्रतिशतले बढेर ४ खर्ब २५ अर्ब ५७ करोड कायम भएको छ । यस कुल सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत छ ।
चालू आर्थिक वर्षको ११ महिनासम्मको आयातलाई आधार मान्दा अहिलेको बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । जेठमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६१.५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको असारमा ४३.८ प्रतिशत थियो ।