नेपाली बजारमा लेट्बी फ्लाइगनको बिक्री सुरु, मूल्य ५ लाख ४९ हजार रुपैयाँदेखि

कम्पनीले फ्लाइगन २२० सिटी र फ्लाइगन २२० हिल्स गरी दुई भेरियन्ट बजारमा ल्याएको छ। फ्लाइगन २२० सिटीको मूल्य ५ लाख ४९ हजार ९९९ रुपैयाँ र फ्लाइगन २२० हिल्सको मूल्य ५ लाख ७४ हजार ९९९ रुपैयाँ तोकिएको छ।

काठमाडौं । नेपाली बजारमा चिनियाँ मोटरसाइकल ब्रान्ड लेट्बी (LETEBE) को आधिकारिक रूपमा प्रवेश गरेको छ । नेपालमा क्रसफायर (Crossfire) तथा इटालियन मोटरसाइकलको आधिकारिक वितरक क्लासिक ह्वील्सले लेट्बी फ्लाइगन २२० मोटरसाइकलको बिक्री सुरु गरेको हो ।

कम्पनीले फ्लाइगन २२० सिटी र फ्लाइगन २२० हिल्स गरी दुई भेरियन्ट बजारमा ल्याएको छ। फ्लाइगन २२० सिटीको मूल्य ५ लाख ४९ हजार ९९९ रुपैयाँ र फ्लाइगन २२० हिल्सको मूल्य ५ लाख ७४ हजार ९९९ रुपैयाँ तोकिएको छ। दुवै मोडल देशभर रहेका लेट्बी तथा क्रसफायरका आधिकारिक शोरुममार्फत बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ‘मेकानिकल कम्प्यानियन’ अवधारणामा विकास गरिएको फ्लाइगन २२० ले व्यावहारिकता, आधुनिक प्रविधि, बहुउपयोगिता र जीवनशैलीलाई एउटै मोटरसाइकलमा समेटेको छ । दुवै भेरियन्ट फरक–फरक प्रकारका प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने गरी तयार गरिएको कम्पनीको दाबी छ ।

फ्लाइगन २२० हिल्स विशेषगरी एडभेन्चर टुरिङ, पहाडी सडक तथा हल्का अफरोड यात्राका लागि तयार गरिएको मोडल हो। यसमा प्रयोग गरिएको नबी (Knobby) टायरले ग्राभेल सडक र असमतल भूभागमा राम्रो ग्रिप दिने कम्पनीले जनाएको छ। फ्लाइगन २२० सिटी भने दैनिक सहरी आवागमनलाई लक्षित गर्दै सहज ह्यान्डलिङ र आरामदायी राइडिङ अनुभव प्रदान गर्ने गरी विकास गरिएको छ ।

कम्पनीले दुवै मोडलमा ५ वर्षको वारेन्टी उपलब्ध गराएको छ। यसले मोटरसाइकलको इन्जिनियरिङ, टिकाउपन र दीर्घकालीन विश्वसनीयताप्रति कम्पनीको विश्वास झल्काउने जनाएको छ ।

मुख्य विशेषता

फ्लाइगन २२० मा ७८० मिलिमिटर सिट उचाइ र २३० मिलिमिटर ग्राउन्ड क्लियरेन्स दिइएको छ, जसले नेपाली सडक र औसत उचाइ भएका राइडरका लागि सहजता प्रदान गर्छ । अगाडि १३०/८०–१८ र पछाडि १८०/८०–१४ साइजका फराकिला टायर प्रयोग गरिएकाले विभिन्न सडकमा राम्रो ग्रिप, स्थिरता र आकर्षक रोड प्रेजेन्स दिने कम्पनीको दाबी छ ।

मोटरसाइकलमा बोस ईएफआई प्रविधिसहितको २२० सीसी सिंगल–सिलिन्डर, एयर–कुल्ड इन्जिन जडान गरिएको छ । इन्जिनले ७,५०० आरपीएममा १२.८ किलोवाट शक्ति र ५,५०० आरपीएममा १७ एनएम टर्क उत्पादन गर्छ। यसमा ५ स्पिड गियरबक्स र चेन–ड्राइभ ट्रान्समिसन उपलब्ध छ ।

फिचरका रूपमा प्यासिभ कीलेस एन्ट्री, पुश–स्टार्ट इग्निसन, स्मार्ट लकिङ प्रणाली, एन्टी–थेफ्ट अलार्म, नेभिगेसनसहितको २.८ इन्च टीएफटी डिस्प्ले, एलईडी हेडलाइट, डुअल–च्यानल एबीएस, ट्र्याक्सन कन्ट्रोल र आकर्षक सस्पेन्सन जस्ता सुविधा समावेश गरिएका छन् ।

कम्पनीका अनुसार यसको अपराइट राइडिङ पोजिसन, कम सेन्टर अफ ग्राभिटी, सन्तुलित डिजाइन र सहज सिट उचाइले नयाँ तथा अनुभवी दुवै राइडरलाई आरामदायी, सुरक्षित र आत्मविश्वासपूर्ण राइडिङ अनुभव प्रदान गर्नेछ ।