बिजुली निर्यात ६३ प्रतिशतले बढ्यो, विद्युत व्यापारबाट मुलुकलाई पौने १९ अर्ब रूपैयाँ फाइदा

विज्ञापन
ncell

आर्थिक वर्ष २०८२/८३ मा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको निर्यात आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको कुल आयात खर्च कटाउँदा नेपालले विद्युत् व्यापारबाट मात्रै १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ बचत गरेको छ ।

काठमाडौं । नेपालले विद्युत निर्यातमा ऐतिहासिक फड्को मारेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले विद्युत् व्यापारबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार गत वर्षको विद्य्त विक्रीबाट प्राप्त भएको आम्दानी अघिल्लो वर्षको भन्दा ६२.८९ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८१/८२ मा विद्युत् निर्यातबाट प्राधिकरणले १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो । 

गत वर्ष भारतीय खुला बजार र बंगलादेशसँगको व्यापारमार्फत ३ अर्ब ८७ करोड ७४ लाख युनिट बिजुली औसत ७ रुपैयाँ ५६ पैसामा बिक्री गरिएको प्राधिकरणले जनाएको छ । जवकी अघिल्लो वर्ष मात्रै २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत निर्यात गरिएको थियो । 

निर्यातमा भएको वृद्धि र आयातमा आएको संकुचनले नेपालको ऊर्जा क्षेत्रमा उत्साहजनक सुधार देखिएको प्राधिकरणको दाबी छ । यसअवधिमा विद्युत् आयात उल्लेख्य रूपमा घटेको छ । आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो भने गत वर्ष २०८२/८३ मा आयात परिमाण ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ । गत वर्ष १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको विद्य्त आयात भएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको निर्यात आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको कुल आयात खर्च कटाउँदा नेपालले विद्युत् व्यापारबाट मात्रै १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ बचत गरेको छ । अघिल्लो वर्ष २०८१/८२ मा विद्युत विक्रीबाट ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ बचत गरेको थियो ।