दाबी भुक्तानीमा सर्त राख्न नपाईने, तीन महिनाभित्र बीमा दाबी डिजिटल ट्रयाकिङ्ग प्रणालीभित्र

विज्ञापन
ncell

वैदेशिक रोजगार म्यादी जीवन बीमा तथा अन्य जीवन बीमाको दाबी भुक्तानी गर्दा केहि बीमकबाट पुनः अर्को बीमालेख खरिद गर्न अनुचित दबाब दिने गरेको गुनासो प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले कुनै पनि प्रकारको बीमा दावी भुक्तानी दिँदा कुनै पनि प्रकारको सर्त नराख्न बीमा कम्पनी (बिमक) हरुलाई निर्देशन दिएको छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा तथा अन्य जीवन बीमाको दाबी भुक्तानी गर्दा केहि बीमकबाट पुनः अर्को बीमालेख खरिद गर्न अनुचित दबाब दिने गरेको भनी गुनासो प्राप्त भएको भन्दै शुक्रबार प्राधिकरणले दाबी भुक्तानी गर्ने कार्य बीमकको करारीय दायित्व भएको उल्लेख गरेको छ । दाबी भुक्तानीको समयमा बीमकले अर्को बीमालेख बिक्रीसँग शर्त तोक्ने वा

अर्को बीमालेखको लागि अनुचित दबाब दिने कार्य कानुनसँगत नभएको र त्यस्तो गरेको पाइएमा बीमा ऐन, २०७९ बमोजिम कारवाही गरिने प्राधिकरणद्धारा जारी निर्देशनमा उल्लेख छ ।

यसैबीच प्राधिकरणले बीमा दाबीलाई प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ्ग प्रणाली लागू गर्ने भएको छ ।

प्राधिकरणले डिजिटल ट्र्याकिङ्ग प्रणाली तीन महिनाभित्र लागू गर्न बिहीबार बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो । बीमितले दाबीको सूचना बीमकलाई दिने देखि बीमकले दाबी भुक्तानी गर्दाको प्रत्येक चरणको जानकारी डिजिटल ट्र्याकिङ्ग प्रणालीमा रहँदा बीमितहरुलाई दाबी भुक्तानी लिन सहज हुनेछ । बीमकको दाबी व्यवस्थापन प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी, प्रभावकारी एवम् प्रविधिमैत्री बनाउन तथा बीमितलाई आफ्नो दाबीको अवस्थाबारे वास्तविक समयमा जानकारी प्राप्त गर्न डिजिटल ट्र्याकिङ्ग प्रणालीले सघाउनेछ ।

वर्षौंदेखि सरकारदेखि सर्वसाधारणसम्म बीमा दाबी भुक्तानी झन्झटिलो र खर्चिलो भएको भन्दै बीमा कम्पनीहरुको आलोचना हुँदै आएको छ । यसअघि प्राधिकरणले बीमितको गुनासो सुन्न बिमकहरुलाई निर्देशन दिएको थियो ।

प्राधिकरणद्धारा जारी दुई निर्देशन

प्रकाशन भएका दस्तावेजहरू

6a637f66ccce5_1784905574.pdf