आन्तरिक राजस्व विभागले भन्यो, 'बिजुलीको भ्याट साउन १ गतेदेखि कार्यान्वयन गर्नु'
बजेट कार्यान्वयन हुनुपूर्व नै असारकै बिलमा नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट भ्याटसहित महशुल उठाउन थालेपछि त्यसको चर्को आलोचना भएको थियो ।
काठमाडौं । आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) साउन १ गतेदेखि लागू हुने स्पष्ट पारेको छ ।
आर्थिक ऐन २०८३ ले मूल्य अभिवृद्धि कर ऐन २०५३ संशोधन गरी सरकारले विद्युत् सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई ५ प्रतिशत तथा अन्य व्यक्तिका सम्बन्धमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो ।
सरकारले गत जेठ १५ गते सार्वजनिक चालू आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बिजुलीमा खपतका आधारमा भ्याट लागू गर्ने व्यवस्था थियो । त्यसअनुसार सरकारले ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने ग्राहकले ५ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरिएको थियो । बजेट कार्यान्वयन हुनुपूर्व नै असारकै बिलमा नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट भ्याटसहित महशुल उठाउन थालेपछि त्यसको चर्को आलोचना भएको थियो । सामाजिक सञ्जालमा चर्को विरोध देखिएपछि प्राधिकरणले विभागलाई स्पस्ट पार्न आग्रह गरेको थियो । त्यसैका आधारमा विभागले प्राधिकरणलाई साउन १ गतेदेखि मात्र भ्याट उठाउन पत्राचार गरेको हो ।
आन्तरिक राजस्व विभागको सूचना
