विद्युत् महसुल समयानुकूल गराउन पुनरवलोकन प्रक्रिया अघि बढ्यो

विज्ञापन
ncell

सरकारले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढाएको छ। 

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले विद्युत्को अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यका साथ महसुल संरचनाको समीक्षा गर्न समिति गठन गर्ने निर्णय गरेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न १५ दिनको समयसीमासहित समिति गठन गरेको जनाएको छ। समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत् नियमन आयोगसमक्ष प्रस्ताव पेस गरिनेछ।

प्राधिकरणका अनुसार पछिल्ला वर्षमा जलविद्युत् उत्पादन उल्लेख्य रूपमा बढ्दै गएको छ। विशेष गरी वर्षायाममा उत्पादन भएको विद्युत् पूर्ण रूपमा खपत हुन नसक्ने अवस्था देखिएकाले आन्तरिक उपभोग बढाउने नीति आवश्यक भएको उनले बताए। त्यसैअनुसार घरायसी तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसुल संरचनामा सुधारको तयारी गरिएको हो।

प्राधिकरणले गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत प्रदान गर्ने तथा उच्च विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त दरमा विद्युत् उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ। यसबाट उपभोक्ताको मासिक विद्युत् खर्च घट्नुका साथै उद्योगहरूको उत्पादन लागत पनि कम हुने अपेक्षा गरिएको छ।

महसुलपुनरवलोकनका लागि सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा ऊर्जा मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जा तथा वित्त क्षेत्रका विज्ञ, उपभोक्ता प्रतिनिधि तथा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य-सचिव रहनेछन्।