बहुराष्ट्रिय कम्पनीका सञ्चालकसंग अर्थमन्त्री वाग्लेले छलफल गर्दै

विज्ञापन
ncell

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग आज छलफल गर्दै छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत अर्थमन्त्री वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन् ।

अर्थमन्त्रीको सचिवालयका अनुसार छलफलका लागि ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा बोलाइएको छ । मन्त्रालयको सुवर्ण हलमा दिउँसो १२ बजेबाट छलफल सुरु हुनेछ । छलफलमा बहुराष्ट्रिय कम्पनीले बजेटमार्फत पाएका सुविधा, नेपालमा व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या तथा लगानी विस्तारका सम्भावनाबारे छलफल हुने बताइएको छ।

साथै, रोजगारी सिर्जना, लगानीको प्रतिफल फिर्ता लैजाने विषयमा सरकारले गर्नुपर्ने सहजीकरणबारे पनि कम्पनीका प्रतिनिधिलाई खुलेर आफ्ना धारणा राख्न अर्थमन्त्री वाग्लेले आग्रह गर्नेछन् । कम्पनीहरूले आफ्ना समस्या र सुझाव लिखित रूपमा समेत पेश गर्न सक्ने व्यवस्था गरिएको सचिवालयले जनाएको छ ।

बजेट कार्यान्वयन सम्बन्धी छलफल शृङ्खलाअन्तर्गत अर्थमन्त्री वाग्लेले यसअघि उत्पादनमूलक क्षेत्रमा लगानी गरी ठूलो रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएका ३३ औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गरिसकेका छन् ।

यस्तै, उनले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग समेत बजेट कार्यान्वयन र आर्थिक गतिविधिका विषयमा छलफल गरिसकेका छन् ।