दशैं-तिहारमा पेट्रोलियम अभाव हुँदैन: आयल निगम

विज्ञापन
ncell

काठमाडौं । नेपाल आयल निगमले आगामी दशैं-तिहारलगायतका चाडपर्वमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने जनाएको छ । बुधबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको पर्याप्त मौज्दात रहेकोले कुनै समस्या नआउने जानकारी दिएका हुन् ।

औसतमा १३ देखि १४ दिनको स्टक कायम गरिएको उनले बताए । उनका अनुसार निगमसँग हाल १ करोड ५० लाख लिटर पेट्रोल, ४ करोड ६० लाख लिटर डिजेल, १७ लाख लिटर मट्टितेल र ७० लाख लिटर हवाई इन्धन मौज्दात छ । पेट्रोलको दैनिक खपत करिब २० लाख लिटर रहेको उनले बताए । एलपीजी ग्यासमा भने पछिल्लो समय केही दबाब देखिएको उनले जानकारी दिए ।

उनकाअनुसार नेपालमा हाल ५८ वटा ब्राण्डका एलपीजी सिलिण्डर कारोबारमा छन् । धेरै ब्राण्ड र फरक-फरक सिलिण्डरका कारण आपूर्ति व्यवस्थापनमा समस्या आउने भएकाले दीर्घकालीन रूपमा ब्रान्ड मर्जरको योजना अघि बढाइएको उनले बताए ।

उनका अनुसार नेपालमा एलपीजी आयातका लागि भारतका विभिन्न रिफाइनरी तथा डिपोमा निर्भर रहनुपर्छ । आयातको लागी नेपालसम्म एकतर्फी दूरी करिव १ हजार २०० किलोमिटर रहेको र दुईतर्फी ढुवानी दूरी करिब २ हजार ४०० किलोमिटर पुग्ने साहले बताए । भारतबाट १ हजार २२५ सिलिण्डर बोकेको बुलेट नेपाल आइपुग्न करिब १० दिन लाग्ने उनको भनाइ छ । निगमले आवश्यकताअनुसार अग्रिम रूपमा ठूलो परिमाणमा ग्यास ल्याउने नीतिगत प्रयास गरेको पनि साहले बताए । तर त्यस क्रममा खाली सिलिण्डरको मौज्दात थुप्रिएपछि अहिले एकैपटक माग बढ्दा आपूर्ति व्यवस्थापनमा दबाब परेको उनको भनाइ छ ।

साहले एलपीजी आयातमा समस्या नभएको दाबी गर्दै अन्तर्राष्ट्रिय रूपमा आपूर्ति अवरुद्ध हुने अवस्था नरहेमा आवश्यकता परे तत्कालै थप ग्यास ल्याउन सकिने बताए । तर ढुवानी लागत र उपभोक्तामाथि पर्ने आर्थिक भारलाई ध्यानमा राखेर दीर्घकालीन रूपमा सन्तुलित आपूर्ति व्यवस्थापन गर्नुपर्ने उनले उल्लेख गरे । चालु महिनामा खपत हुने अनुमानभन्दा बढी एलपीजी बजारमा पठाइएको उनको दाबी छ ।

उनले करिब ३४ लाख सिलिन्डर बजारमा पठाइसकिएको जानकारी दिए । एलपीजी अभावको गुनासो आएपछि निगमले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा स्ट्यान्डबाइ वितरणको व्यवस्था गरेको जनाएको छ । टेकु, कालीमाटी र जडीबुटीलगायतका स्थानबाट आवश्यकताअनुसार उपभोक्तालाई ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको साहले बताए । विशेष गरी वृद्ध, असहाय तथा सुत्केरीलाई ग्यास प्राप्त गर्न कठिनाइ भएमा घरमै डेलिभरीको व्यवस्था समेत गरिएको उनले बताए ।

उनले स्थानीय प्रशासनसँगको समन्वयमा समेत ग्यास वितरण भइरहेको जानकारी दिए । साहले चाडपर्वका बेला उपभोक्तालाई अनावश्यक त्रासमा नपर्न आग्रह गर्दै निगमले आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले राज्यका निकाय उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउन प्रतिबद्ध रहेको दाबी गरे ।