सर्वोत्तम सिमेन्टले कमायो १ अर्ब १० करोड नाफा, अन्य सूचक कस्ता?

विज्ञापन
ncell

विवरण अनुसार सर्वोत्तम सिमेन्टले १ अर्ब १० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ७.६८ प्रतिशतले बढी हो ।

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी, खुद नाफा र प्रतिसेयर आम्दानीमा सुधार देखिएको छ । विवरण अनुसार सर्वोत्तम सिमेन्टले १ अर्ब १० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ७.६८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले १ अर्ब २ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवमा कम्पनीको बिक्री आम्दानी (व्यापार) बढेको छ । अघिल्लो वर्ष ९ अर्ब ५४ करोड रुपैयाँ रहेको बिक्री आम्दानी यस वर्ष बढेर १० अर्ब २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको आम्दानी बढे पनि सेलिङ तथा डिस्ट्रिब्युसन खर्च बढेको छ । उक्त खर्च ३३ करोड ९६ लाख रुपैयाँबाट बढेर ६५ करोड ६५ लाख रुपैयाँ पुगेको छ । तर, वित्तीय लागत भने २९ करोड ६३ लाख रुपैयाँबाट घटेर २४ करोड २४ लाख रुपैयाँमा झरेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी २१.२० रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १९९.८९ रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ५ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कम्पनीको जगेडा कोषमा ४ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ छ । कम्पनीको उत्पादन लागत ७ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । 

सर्वोत्तम सिमेन्टले उत्पादन क्षमताको उपयोग बढाउँदै लागत घटाउने रणनीति लिएको जनाएको छ । कम्पनीले नेपालीसँगै भारतीय बजारमा उच्च गुणस्तरको सिमेन्टको आपूर्ति बढाउने र आफ्नो ब्रान्डको उपस्थितिलाई थप मजबुत बनाउने योजना अघि सारेको छ । विश्वको भूराजनीतिक तनाव तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले कच्चा पदार्थ उत्खनन र ढुवानी लागत बढेको कम्पनीले जनाएको छ । नेपालमा आयातित वस्तुको मूल्यमा हुने उतारचढावले समेत व्यवसायमा असर पार्न सक्ने कम्पनीको आकलन छ । यी चुनौतीका बीच उत्पादन क्षमता अधिकतम उपयोग, स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार विस्तार र बजारमुखी रणनीतिलाई प्राथमिकता दिइएको छ ।