एनआईएमबीका सञ्चालक र सीईओविरुद्ध मुद्दा परे पनि बैंकको नियमित कारोबार सुरक्षित रहेको राष्ट्र बैंकको स्पष्टोक्ति

मुद्दा हाल अदालतमा विचाराधीन रहेकाले, मुद्दाको प्रकृति, समयावधि र गम्भीरतालाई आधार मानेर राष्ट्र बैंकले थप कदम चाल्ने बताएको छ ।

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाले बैंकको नियमित कारोबारमा तत्काल कुनै असर नपर्ने नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ । स्मार्ट टेलिकमको ऋण असुलीका लागि बैंकले गरेको धितो लिलामीसम्बन्धी विषयमा बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएपछि राष्ट्र बैंकले बैंकको अवस्थाबारे धारणा सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले बैंकको हालको वित्तीय अवस्था र तरलतामा कुनै समस्या नभएको समेत बताएको छ । ‘हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको तरलताको अवस्था लगायत वित्तीय सबलताका परिसूचकहरू केन्द्रीय बैंकले तोकेको मापदण्ड बमोजिम सन्तोषजनक रहेका छन् । बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था देखिएको छैन,’ राष्ट्र बैंकले विज्ञप्तिमा भनेको छ, ‘राष्ट्र बैंकले उक्त बैंकको सञ्चालन र व्यवस्थापनको विषयमा नजिकबाट अनुगमन गरिरहेको र विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय सुझाव लिई छलफल गरिरहेको छ।’

मुद्दा हाल अदालतमा विचाराधीन रहेकाले, मुद्दाको प्रकृति, समयावधि र गम्भीरतालाई आधार मानेर राष्ट्र बैंकले थप कदम चाल्ने बताएको छ । राष्ट्र बैंकले कानुन बमोजिम सञ्चालक समिति र उच्च व्यवस्थापनका सम्बन्धमा आवश्यक उपायहरू अवलम्बन गर्ने स्पस्ट पारेको छ ।