एनएलजी इन्स्योरेन्सको व्यवसाय १८ प्रतिशतले बढ्यो, दाबी भुक्तानी बढ्दा नाफा खुम्चियो
जेनजी आन्दोलन र बाढीपहिरोका क्षतिका कारण दाबी भुक्तानीमा आएको उच्च वृद्धिले नाफा घटाउन मद्धत गरेको छ । नाफा घटेसँगै कम्पनीको सञ्चित नाफा पनि ८७.२० प्रतिशतले खुम्चिएर १ करोड १७ लाख रुपैयाँमा सीमित छ ।
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा एनएलजी इन्स्योरेन्स कम्पनीको मुख्य व्यवसाय अर्थात् बीमा शुल्क संकलन १७.९९ प्रतिशतले बढेको छ ।
एनएलजीले सार्वजनिक गरेको गत वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्ष खुद बीमा शुल्क (नेट प्रिमियम) संकलन १ अर्ब १५ करोड ९६ लाख रुपैयाँ पुगेको छ । मुख्य व्यवसायमा भएको वृद्धिले कम्पनीको आम्दानी पनि ११.६० प्रतिशत बढेर १ अर्ब ८३ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
एनएलजीको व्यवसाय विस्तारमा राम्रो प्रगति भएपनि खुद नाफा भने घटेको छ । खासगरि गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र बाढीपहिरोको जोखिम एनएलजीको नाफामा पनि परेको छ । गत वर्ष खुद नाफा ५ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६२.३१ प्रतिशतले थोरै हो । जेनजी आन्दोलन र बाढीपहिरोका क्षतिका कारण दाबी भुक्तानीमा आएको उच्च वृद्धिले नाफा घटाउन मद्धत गरेको छ । नाफा घटेसँगै कम्पनीको सञ्चित नाफा पनि ८७.२० प्रतिशतले खुम्चिएर १ करोड १७ लाख रुपैयाँमा सीमित छ ।
गत वर्ष एनएलजीको कुल दाबी भुक्तानी ३७.५५ प्रतिशतले बढेर ३ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । जसको असर कुल खर्चमा पनि परेको छ । अघिल्लो वर्षको तुलनामा कुल खर्च २७.४१ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
२ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको एनएलजीको बीमा कोष १४.७६ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष एनएलजीले २ लाख २३ हजार ९११ वटा बीमालेख विक्री गरेको थियो ।
खुद नाफा घटेपछि एनएलजीको प्रतिसेयर आम्दानी (इपीएस) पनि घटेको छ । अघिल्लो वर्ष ५.९८ रुपैयाँ रहेको इपीएस गत वर्ष खुम्चिएर २.१७ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६६.३६ रुपैयाँ छ ।
