ग्यासको मौज्दातलाई कालोबजारी नभनियोस्: होटल संघ नेपाल
संघले उक्त होटलमा मौज्दात रहेको ग्यास होटलमा रहेका ग्राहक तथा बुकिङको संख्या, मागअनुसार तयार गरिने खानाको प्रकार र परिमाणअनुसार आवश्यक पर्ने ग्यास रहेको स्पष्ट पारेको छ ।
काठमाडौं । काठमाडौंस्थित एक पाँचतारे अन्तर्राष्ट्रिय चेन होटलमा सरकारी अनुगमनका क्रममा खाना पकाउने एलपी ग्यासको मौज्दातबारे सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति होटल संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले उक्त होटलमा मौज्दात रहेको ग्यास होटलमा रहेका ग्राहक तथा बुकिङको संख्या, मागअनुसार तयार गरिने खानाको प्रकार र परिमाणअनुसार आवश्यक पर्ने ग्यास रहेको स्पष्ट पारेको छ । ग्यास मौज्दातलाई कालोबजारी वा अस्वाभाविक भण्डारणका रूपमा बुझ्न नहुने संघको भनाइ छ ।
होटलमा ठूलो संख्यामा कर्मचारी तथा कामदार कार्यरत रहने र दैनिक रूपमा स्वदेशी तथा विदेशी पाहुनालाई बिहानको खाना, दिवा भोजन तथा रात्रिभोजसहित विभिन्न खाद्य सेवा उपलब्ध गराउनुपर्ने भएकाले ग्यासको खपत सामान्य व्यवसायको तुलनामा बढी हुने संघले जनाएको छ । साथै होटल परिसरमा सभा, सम्मेलन, गोष्ठी, उत्सव तथा भोजजस्ता ठूला कार्यक्रम नियमित रूपमा हुने भएकाले सेवा सञ्चालन र खाद्य सुरक्षा सुनिश्चित गर्न आवश्यक परिमाणमा ग्यास मौज्दात राख्नुपर्ने संघको तर्क छ ।
राज्यका नीति, नियम तथा मापदण्डको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गरिरहेका होटललाई ग्यासलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्तिको प्रत्याभूति नहुँदा अन्तर्राष्ट्रिय पर्यटकलाई स्तरीय सेवा दिन कठिन हुने संघले जनाएको छ । अनुगमनका नाममा एकतर्फी र अव्यवहारिक निर्देशन दिइए सेवा प्रवाहमा समस्या आउन सक्ने संघको चेतावनी छ ।
देशकै प्रतिष्ठित होटलको नामै किटान गरी सञ्चारमाध्यममा समाचार सार्वजनिक हुँदा नेपालको राष्ट्रिय पर्यटन छविमा नकारात्मक असर पर्न सक्ने भन्दै संघले सरकारी निकायलाई अनुगमनका क्रममा त्रास र अनिश्चितता नबढाउन आग्रह गरेको छ ।
पर्यटन क्षेत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको उल्लेख गर्दै संघले अन्य सरकारी निकायबाट गरिने नियमसंगत अनुगमनमा समेत मन्त्रालयको जानकारी र समन्वय आवश्यक रहेको जनाएको छ। होटल तथा आतिथ्य उद्योगमा हुने सरकारी अनुगमनमा संघले आवश्यक विशेषज्ञ सेवा उपलब्ध गराउन तयार रहेको पनि जनाएको छ ।
होटल उद्योगको संवेदनशीलता, अत्यावश्यक सेवाको प्रकृति तथा दैनिक सञ्चालनका व्यावहारिक पक्षलाई ध्यानमा राखेर अनुगमन तथा नियमनका कार्य समन्वयात्मक, मर्यादित र तथ्यपरक हुनुपर्ने संघको भनाइ छ । अनुगमनका क्रममा देखिएका विषयलाई एकतर्फी रूपमा सञ्चारमाध्यममा प्रस्तुत गर्दा समग्र होटल उद्योग तथा व्यवसायीको प्रतिष्ठामा असर पर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन छविसमेत प्रभावित हुन सक्ने संघले जनाएको छ ।
संघले अन्तरमन्त्रालय, सम्बन्धित विभाग, सरकारी निकाय तथा सरोकारवाला संघ-संस्थाबीच आवश्यक समन्वय गरी होटल उद्योगसँग सम्बन्धित समस्याको दीर्घकालीन तथा व्यावहारिक समाधान खोज्न राज्यसँग सहकार्य गर्न आफूहरू सदैव तयार रहेको जनाएको छ ।
संकटका बेला राज्यलाई समस्या समाधान र सहजीकरणमा विगतमा झैं सहयोग गर्ने प्रतिबद्धता पनि संघले दोहोर्याएको छ । होटलमा मौज्दात एलपी ग्यास नाफा आर्जनका लागि बिक्री वितरण गर्न वा कालोबजारीलाई प्रश्रय दिन नभई पूर्ण रूपमा व्यावसायिक तथा सेवा प्रयोजनका लागि रहेको विषय बुझिदिन संघले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
त्यस्तै, ठूला अन्तर्राष्ट्रिय ब्रान्डका होटलका भान्सा विशिष्ट तथा औद्योगिक प्रकृतिका हुने भएकाले त्यहाँको सञ्चालन प्रणाली तथा प्राविधिक र व्यवस्थापकीय प्रक्रियाबारे आवश्यक जानकारी लिएर मात्र सरकारी अनुगमन तथा निर्णय गर्नुपर्ने संघले जनाएको छ ।अनुगमनका नाममा एकतर्फी वा स्वेच्छाचारी निर्णय नगर्न पनि संघले आग्रह गरेको छ ।
