विदेशमा रहेका नेपालीलाई ढुक्क भएर स्वदेशमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

विज्ञापन
ncell

सरकारले वैदेशिक लगानी भित्र्याउन नीतिगत बाधाहरू हटाउँदै लगेको स्पष्ट पार्दै उनले हालै ‘धितोपत्र बाँडफाँड तथा निष्कासन नियमावली’ मा संशोधन गरिएको जानकारी दिए ।

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको उल्लेख गर्दै प्रवासी नेपालीहरूलाई स्वदेशमा लगानी गर्न आह्वान गरेका छन् । चीनको ग्वाङझाउमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले वर्तमान सरकारले आर्थिक सुधारका कार्यलाई तिब्रता दिएको बताए । गत जेठ १५ गते सार्वजनिक गरिएको बजेटमार्फत सरकारले २७ वटा नयाँ ऐन परिमार्जन तथा तर्जुमाको प्रक्रिया अघि बढाएको र सार्वजनिक संस्थानहरूको सुधार, पूर्वाधार निर्माणमा निजी वित्त परिचालन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अत्याधुनिक प्रविधिमा युवा पुस्तालाई आकर्षित गर्ने कार्यक्रमहरू ल्याएको उनले जानकारी दिए । सरकारले वैदेशिक लगानी भित्र्याउन नीतिगत बाधाहरू हटाउँदै लगेको स्पष्ट पार्दै उनले हालै ‘धितोपत्र बाँडफाँड तथा निष्कासन नियमावली’ मा संशोधन गरिएको जानकारी दिए ।

उक्त संशोधनमार्फत एनआरएन इन्भेस्टमेन्ट फण्डबाट जारी हुने शेयरमा ८५ प्रतिशतसम्मको हिस्सा सुनिश्चित गरिएको र यसले डायस्पोराको लगानीलाई उच्च प्राथमिकता दिएको सन्देश प्रवाह गरेको उनको भनाइ छ । 

वाग्लेले प्रवासी नेपालीहरूलाई विशेषगरी सूचना प्रविधि (आईटी), पर्यटन, स्वच्छ ऊर्जा, व्यावसायिक कृषि र हरित पुनः औद्योगिकीकरण जस्ता क्षेत्रमा लगानीका प्रशस्त अवसर रहेको बताए । उनले रुग्ण उद्योगहरूलाई सार्वजनिक-निजी साझेदारी र ‘अपरेसनल लिज’ मार्फत सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिँदै यसमा प्रवासी नेपालीको पुँजी र अनुभव महत्वपूर्ण हुने उल्लेख गरे ।

सरकारले ‘सफ्ट पावर’ का रूपमा डायस्पोराको लगानीलाई विशेष प्रश्रय दिएको भन्दै उनले स्वदेशी उत्पादन प्रवद्र्धन र आयात प्रतिस्थापनका क्षेत्रमा समेत सहभागी हुन एनआरएनएका सदस्यहरूलाई आग्रह गरे । सम्मेलनको सफलताको शुभकामना दिँदै उनले भावनात्मक र आर्थिक दुवै हिसावले नेपालमा लगानी गर्नु एनआरएनएका लागि फलदायी हुने विश्वास व्यक्त गरे ।