दिनभर लाइनमा बस्दा पनि ग्यास नपाएको नागरिकको गुनासो

विज्ञापन
ncell

 काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास विक्री वितरण सुरु गरेको छ । नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिबारदेखि पाँच वटा स्थानमा ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो ।

टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट वितरण भइरहेको थियो । 

विक्री केन्द्रअनुसार फरक-फरक ब्राण्डका ग्यास उपलब्ध गराएको निगमले जनाएको छ । निगमले तोकेका स्थानमा ग्यास लिन बिहानैदेखि सर्वसाधरणको भीड लागेको थियो ।

नेपाल आयल निगमका कर्मचारी भीमप्रसाद पौडेलकाअनुसार बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन एक हजारभन्दा बढी उपभोक्ता पुगेका थिए । बबरमहल केन्द्रबाट काठमाडौंका जुनसुकै क्षेत्रका उपभोक्ताले ग्यास लिनसक्ने व्यवस्था गरिएको थियो ।  निगमले अहिलेको ग्यास संकटका कारण ग्यास डिपोहरुसंगको समन्वयमा ग्यास वितरण गर्न सहजीकरण गरेको उनको भनाई छ ।

ग्यासको कालोबजारी तथा अनावश्यक भण्डारणविरुद्ध अनुगमन तीव्र पारिएको निगमले जनाएको छ । ग्यास लुकाउने, अनावश्यक रूपमा भण्डारण गर्ने तथा कालोबजारी गर्नेहरूलाई कानुनी दायरामा ल्याउने गरी अनुगमन भइरहेको पौडेलले बताए । निगमले विभिन्न स्थानबाट ग्यास वितरण गरेपनि सर्वसाधारणले भने सहज रुपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् ।

बबरमहलमा ग्यास लिन बसेको सेवाग्राहीहरुले लामो समयसम्म लाइन बस्दा पनि ग्यास नपाएको गुनासो गरेका हुन् । लाईनमा बसेर ग्यास लिने पालो आएपनि वितरण गर्ने ठाउँमा नै ग्यास नहुँदा कुरेर बस्न बाध्य भएको उनीहरुको भनाई थियो ।  निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ ।