नेपाल टेलिकमको नाफा ४७.५८ प्रतिशतले बढ्यो

नेपाल टेलिकमको नाफा ४७.५८ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७ दशमलव ५८ प्रतिशत बढी हो । अघिल्लो आव २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो। एक वर्षमा कम्पनीको नाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको हो ।

कम्पनीका अनुसार समीक्षा अवधिमा करअघिको मुनाफासमेत ३४ दशमलव ६६ प्रतिशतले बढेर १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो ।

त्यस्तै, ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँ थियो ।

कम्पनीको कुल सञ्चालन आय पनि ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो । यसअनुसार सञ्चालन आय १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३ दशमलव १२ प्रतिशतले बढेको हो ।

कुल आय भने ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो। कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा रहेको छ ।

यस्तै,कम्पनीको ब्याज आम्दानी भने घटेको छ । ब्याजदर क्रमिक रूपमा घटेका कारण अघिल्लो आवको तुलनामा गत आवमा ब्याज आम्दानी ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२ दशमलव ८८ प्रतिशतले घटेको हो ।

तर, मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानीमा भएको वृद्धिले सञ्चालन आय र नाफामा सकारात्मक प्रभाव पारेको कम्पनीले जनाएको छ । विशेषगरी जीएसएम सेवातर्फको राजस्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २ दशमलव २८ प्रतिशतले बढेको छ । कम्पनीका अनुसार सञ्चालन खर्च तथा वित्तीय व्यवस्थापनमा भएको सुधारसँगै दूरसञ्चार सेवाबाट हुने आम्दानी बढ्दा समग्र नाफामा सुधार आएको हो ।

नेपाल टेलिकमले व्यावसायिक रूपमा कम प्रतिफल प्राप्त हुने भए पनि राष्ट्रिय सञ्चार पूर्वाधारको जिम्मेवारीलाई ध्यानमा राख्दै दुर्गम तथा विकट क्षेत्रमा सेवा विस्तारलाई निरन्तरता दिएको जनाएको छ । कम्पनीले त्यस्ता क्षेत्रमा नेटवर्क विस्तार, सेवा गुणस्तर सुधार तथा दूरसञ्चार पहुँच अभिवृद्धिका कामलाई प्राथमिकता दिँदै आएको छ ।

दूरसञ्चार क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच विद्यमान ग्राहक आधार कायम राख्नुका साथै डेटा तथा डिजिटल सेवाको प्रयोग बढाउनु आगामी दिनमा कम्पनीका लागि महत्वपूर्ण चुनौती र अवसरका रूपमा रहने देखिन्छ ।