विद्युत् प्राधिकरणको नाफा १२ अर्बबाट ५ अर्बमा झर्नु गम्भीर: कुलमान घिसिङ

विज्ञापन
ncell

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफामा उल्लेख्य गिरावट आएको विषयलाई प्राधिकरणका पूर्वकार्यकारी निर्देशक एवं तत्कालीन ऊर्जा मन्त्री कुलमान घिसिङले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् ।

प्राधिकरणको ४१औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै घिसिङले आर्थिक वर्ष २०८१/८२ मा करिब १२ अर्ब रुपैयाँ रहेको प्राधिकरणको नाफा आर्थिक वर्ष २०८२/८३ मा करअघि करिब ५ अर्ब रुपैयाँमा सीमित हुनु चिन्ताको विषय भएको बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नाफा घट्नुको कारणबारे गम्भीर समीक्षा गर्दै आवश्यक सुधार गर्नुपर्नेमा जोड दिएका छन् । तर, यसको समाधान प्राधिकरणलाई कमजोर बनाउनु नभई अझ सक्षम, सबल, व्यावसायिक, पारदर्शी र जनउत्तरदायी बनाउनु रहेको उनको भनाइ छ ।

घिसिङले प्राधिकरणको इतिहासमा आर्थिक वर्ष २०७२/७३ लाई महत्वपूर्ण मोडका रूपमा उल्लेख गरेका छन् । त्यसअघि लोडसेडिङ र घाटाका कारण आलोचित रहेको प्राधिकरणले त्यसपछि विद्युत् क्षेत्रमा उल्लेखनीय परिवर्तन गर्दै आफ्नो पहिचान बदल्न सफल भएको उनले बताएका छन् ।

उनका अनुसार लोडसेडिङ अन्त्यदेखि झण्डै शतप्रतिशत विद्युतीकरण, विद्युत्को खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बन्ने र नाफा कमाउने अवस्थासम्मको यात्रा सार्वजनिक संस्थानका लागि प्रेरणादायी उदाहरण हो ।

घिसिङले प्राधिकरणको सफलताले सक्षम नेतृत्व, इमानदार व्यवस्थापन र स्पष्ट उद्देश्य भए सार्वजनिक संस्थानहरू पनि राष्ट्रिय समृद्धिका महत्वपूर्ण संवाहक बन्न सक्ने सन्देश दिएको बताएका छन् । उनले राजनीतिक वा अन्य स्वार्थका आधारमा प्राधिकरणलाई कमजोर बनाउन नहुनेमा समेत जोड दिएका छन् ।