विद्युत् प्राधिकरणको नाफा ४३ प्रतिशतले घट्यो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा पछिल्लो आर्थिक वर्षमा थप घटेको छ । आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको खुद नाफा ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ८ अर्ब ९१ करोड रुपैयाँको तुलनामा ३ अर्ब ८७ करोड रुपैयाँ कम हो । यससँगै प्राधिकरणको नाफा एक वर्षमै करिब ४३ प्रतिशतले घटेको देखिन्छ ।
विद्युत् बिक्री तथा अन्य स्रोतबाट हुने आम्दानी बढे पनि विद्युत् खरिद, सञ्चालन, ब्याजलगायतका खर्च बढ्दा प्राधिकरणको नाफामा निरन्तर दबाब परेको देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ रहेको थियो । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को १४ अर्ब ४७ करोड रुपैयाँको तुलनामा ३७.३२ प्रतिशत कम थियो ।
त्यस अवधिमा प्राधिकरणले विद्युत् बिक्रीबाट १ खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । विद्युत् निर्यातबाट मात्रै १७ अर्ब ४७ करोड १० लाख रुपैयाँ आम्दानी भएको थियो । अन्य स्रोतबाट भएको आम्दानीसमेत जोड्दा कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ पुगेको थियो ।
तर, सोही अवधिमा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको थियो । सञ्चालन खर्च मात्रै अघिल्लो वर्षको तुलनामा १०.१५ प्रतिशतले बढेर ९७ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको थियो ।
प्राधिकरणले विद्युत् खरिदमा मात्रै ७७ अर्ब १० करोड रुपैयाँ खर्च गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११.७३ प्रतिशत बढी हो । आम्दानीको तुलनामा विद्युत् खरिद, सञ्चालन तथा अन्य वित्तीय खर्च बढ्दै गएपछि प्राधिकरणको नाफा लगातार खुम्चिँदै गएको देखिएको छ । पछिल्लो वित्तीय विवरणले प्राधिकरणको आम्दानी बढे पनि बढ्दो खर्च व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको संकेत गरेको छ ।
