आर्थिक वर्षको पहिलो महिनामै घट्यो सरकारी खर्च, राजस्व भने बढ्यो

विज्ञापन
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारको बजेट खर्च अघिल्लो वर्षको तुलनामा घटेको छ । तर, राजस्व संकलन भने बढेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन मसान्तसम्म सरकारले ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्षको साउनमा ४६ अर्ब ३० करोड रुपैयाँ खर्च भएको थियो ।

यस वर्षको खर्च वार्षिक बजेटको १.६८ प्रतिशत हो भने गत वर्ष २.३६ प्रतिशत थियो । गत वर्षको साउनमा वित्तीय व्यवस्थातर्फ २७ अर्ब १० करोड रुपैयाँ खर्च भएकोमा यस वर्ष १९ अर्ब १५ करोड रुपैयाँ खर्च भएको छ । यस शीर्षकको ठूलो हिस्सा सार्वजनिक ऋणको साँवा भुक्तानीमा जाने गर्छ ।

पूँजीगत खर्च भने केही बढेको छ ।

चालु आर्थिक वर्षमा ४ खर्ब २१ अर्ब १० करोड रुपैयाँ पूँजीगत बजेट छुट्याइएकोमा साउनमा १ अर्ब ३२ करोड ८५ लाख रुपैयाँ खर्च भएको छ । गत वर्षको साउनमा यस्तो खर्च ७२ करोड ६३ लाख रुपैयाँ मात्र थियो । यद्यपि विकास खर्चको गति अझै कमजोर देखिएको छ । यस वर्षको पहिलो महिनामा चालु खर्च २१ अर्ब ४० करोड रुपैयाँ भएको छ । सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ७० अर्ब रुपैयाँ चालु खर्च गर्ने लक्ष्य राखेको छ ।

साउनमा राजस्व संकलन भने अघिल्लो वर्षको तुलनामा बढेको छ । यस वर्ष ९२ अर्ब २२ करोड रुपैयाँ राजस्व उठेको छ भने गत वर्षको साउनमा ८४ अर्ब ४६ करोड रुपैयाँ संकलन भएको थियो । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

साउनमा सरकारले २४ करोड ३ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ । अनुदानसहित सरकारको कुल आम्दानी ९३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

यसरी पहिलो महिनाको तथ्यांकमा सरकारी खर्चको गति कमजोर देखिए पनि राजस्व संकलनमा भने सुधार आएको छ ।