करदाता प्रोत्साहन कार्यक्रमः साउनको दोस्रो पाक्षिक विजेता घोषणा, अर्थमन्त्रीद्वारा सचेत उपभोक्ताको ‘दूत’ बन्न आग्रह

विज्ञापन
ncell

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले साउनको दोस्रो पाक्षिकका १७ जना विजेताहरूमध्ये १६ जना (जनही १ लाख रुपैयाँका विजेता)को नाम सार्वजनिक गरे ।

काठमाडौं । आन्तरिक राजश्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन पुरस्कार’ अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक विजेताहरूको नाम घोषणा गरिएको छ । 

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले साउनको दोस्रो पाक्षिकका १७ जना विजेताहरूमध्ये १६ जना (जनही १ लाख रुपैयाँका विजेता)को नाम सार्वजनिक गरे ।

त्यसैगरी, १० लाख रुपैयाँ राशिको बम्पर पुरस्कारको घोषणा भने साउनको पहिलो पाक्षिकका बम्पर विजेता हेमराज जोशी र उनकी धर्मपत्नी तुलसी पन्तले गरेका छन् । कार्यक्रममा पहिलो पाक्षिकका अर्का विजेता हिमाल अर्यालको पनि उपस्थिति रहेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.वाग्लेले ‘बिल लिने र बिल दिने’ संस्कृतिको प्रवद्र्धनका लागि यो कार्यक्रम ल्याइएको स्पष्ट पारे ।  विजेताहरूलाई बधाई दिँदै अर्थमन्त्रीले उनीहरूलाई ‘सचेत उपभोक्ता अभियान’ को विशेष दूतको रूपमा काम गर्न आग्रह गरे । 

पुरस्कार घोषणा कार्यक्रममा सुदूरपश्चिमदेखि गैँडाकोटसम्मका विजेताहरूको सहभागिता रहेको थियो । अर्थमन्त्रीले दोस्रो संस्करणमा पुरस्कृत हुने सम्पूर्ण उपभोक्ताहरूलाई बधाई दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने संकेत गरे ।