४२० मेगावाटको तिला-२ मा एभरेष्टको अगुवाइमा ११ बैंकको साढे ५२ अर्ब ऋण, ४ वर्षभित्र सक्ने लक्ष्य

विज्ञापन
ncell

कालीकोटमा निर्माण हुने आयोजनाको कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ अनुमान गरिएको छ । त्यसमध्ये ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण र बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइने छ ।

काठमाडौं । ४२० मेगावाटको तिला-२ जलविद्युत् आयोजनाले लगानी जुटाएको छ । आयोजना प्रवर्द्धक तिला पावर कम्पनीले एभरेष्ट बैंकको अगुवाईमा ११ बैंक तथा वित्तीय संस्थाले साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । बैंक तथा वित्तीय संस्थासँग वित्तीय व्यवस्थापन सम्झौता गरेसँगै लगानीको टुङ्गो लागेको हो ।

बैंक तथा वित्तीय संस्थासँग लगानीको व्यवस्थापन गर्ने सम्झौता भएसँगै आयोजना निर्माणका लागि ठूलो रकम सुनिश्चित भएको विकासकर्ता कम्पनीले जनाएको छ। आयोजनाका मुख्य प्रवर्द्धकमा स्ट्रिम इन्भेस्टमेन्ट, ऊर्जा इम्प्याक्ट फन्ड, रविन्स यूएसएसहित संस्थागत तथा व्यक्तिगत लगानीकर्ता छन् ।

कालीकोटमा निर्माण हुने आयोजनाको कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ अनुमान गरिएको छ । त्यसमध्ये ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण र बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइने छ । लगानी जुटेसँगै अब आयोजनाको ध्यान निर्माणतर्फ केन्द्रित हुने भएको छ।

एभरेष्ट बैंकको अगुवाइमा भएको ऋण लगानीकर्ताहरुमा सानिमा बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंक को लिड (सह-अगुवा) बैंकका रूपमा सहभागी छन् भने सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक लगानीकर्ता बैंकका रुपमा परियोजनामा लगानी गर्ने सम्झौता गरेका छन् । निजी क्षेत्रले बनाउने आयोजनाहरुमध्ये तिला-२ आयोजना नै सबैभन्दा ठूलो हुनेछ । गत वर्ष निजी क्षेत्रले बनाउने ३४१ मेगावाटको बूढीगण्डकी आयोजनाका लागी बैंकहरुले ऋण लगानी सम्झौता गरेका थिए ।

कालीकोटको तिलागुफा नगरपालिकामा आयोजनाको बाँध र खाँडाचक्र नगरपालिकामा विद्युतगृह निर्माण हुनेछ । अर्धजलाशययुक्त (९पीआरओआर) प्रकृतिको आयोजनाले सुक्खायाममा दैनिक ६ घण्टासम्म उच्च मागको समयमा विद्युत् उत्पादन गर्न सक्नेछ । आयोजना सञ्चालनमा आएपछि वार्षिक २ अर्ब ३१ करोड ८७ लाख ९० हजार युनिट बिजुली उत्पादन गर्ने कम्पनीको अध्यनले देखाएको छ । त्यसमध्ये सुक्खायामको उच्च मागको समयमा ४५ करोड १० लाख ५० हजार र सोही मौसमको कम मागको समयमा २० करोड ५४ लाख ५० हजार र वर्षायाममा १ अर्ब ६६ करोड २२ लाख ९० हजार युनिट विद्युत् उत्पादन हुने बताईएको छ । आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

आयोजनाले निर्माण सुरु भएको चार वर्षभित्र काम सक्ने दावी गरेको छ । तिला-२ ले विद्युत् विकास विभागबाट २०७५ भदौमा विद्युत् उत्पादन अनुमति (लाइसेन्स) लिएको थियो भने नेपाल विद्युत् प्राधिकरणसँग २०८१ कात्तिकमा २९६ मेगावाट क्षमताका लागि विद्युत खरिद सम्झौता (पीपीए) गरेको थियो । बढेर विद्युत उत्पादन गर्ने भएपछि कम्पनीले बाँकी क्षमताका लागि पुनः पीपीए गर्नुपर्ने छ । आयोजनाले प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत सेयर विक्री गर्ने जानकारी दिएको छ ।