साउनमा घट्यो एफडीआई, ३ अर्ब ७७ करोडमा सीमित
गत आर्थिक वर्ष २०८२/८३ को साउनमा भने १ सय २७ परियोजनामार्फत २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको थियो । यस वर्ष गत वर्षको तुलनामा लगानी प्रतिबद्धता उल्लेख्य रूपमा घटेको देखिन्छ ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनमा १ सय ९१ वटा उद्योग तथा परियोजनाका लागि उक्त लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
गत आर्थिक वर्ष २०८२/८३ को साउनमा भने १ सय २७ परियोजनामार्फत २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको थियो । यस वर्ष गत वर्षको तुलनामा लगानी प्रतिबद्धता उल्लेख्य रूपमा घटेको देखिन्छ ।
गत वर्ष आएको ठूलो लगानी प्रतिबद्धतामा चीनमा भैँसीको मासु निर्यात गर्ने ‘प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री’ परियोजना प्रमुख थियो । उक्त एकै परियोजनाका लागि मात्रै २० अर्ब ४५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । चालु आर्थिक वर्षको साउनमा भने त्यस्तो ठूलो आकारको प्रतिबद्धता देखिएको छैन ।
यस वर्ष अटोमेटिक रुटमार्फत आउने एफडीआईको हिस्सा बढी रहेको विभागले जनाएको छ । सरकारले अटोमेटिक रुटबाट स्वीकृत हुने विदेशी लगानीको माथिल्लो सीमा हटाएपछि यस माध्यमबाट लगानी स्वीकृत हुने क्रम बढेको हो ।
साउनमा स्वीकृत एफडीआईमध्ये परियोजनाको संख्याका आधारमा सूचना प्रविधि (आईटी) क्षेत्र अगाडि देखिएको छ । यस क्षेत्रमा मात्रै १ सय २८ वटा उद्योग दर्ता भएका छन् । तर, ती परियोजनामा कुल ५६ करोड ९८ लाख रुपैयाँ बराबरको मात्रै एफडीआई प्रतिबद्धता आएको छ ।
परियोजनाको संख्याका आधारमा पर्यटन क्षेत्र दोस्रो स्थानमा छ । साउनमा पर्यटनतर्फ ३३ वटा उद्योग दर्ता भएका छन्, जसमा १ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ ।
त्यस्तै, सेवामूलक क्षेत्रमा १९ वटा उद्योग दर्ता भएका छन् । यी परियोजनाका लागि ६८ करोड २० लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको छ ।
उत्पादनमूलक क्षेत्रमा ९ वटा परियोजना दर्ता हुँदा ८४ करोड ३२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ । कृषि र ऊर्जा क्षेत्रमा भने साउनमा एक/एक वटा उद्योग दर्ता भएका छन् । दुवै क्षेत्रमा २/२ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ ।
यसरी हेर्दा साउनमा परियोजनाको संख्या आईटी क्षेत्रमा बढी भए पनि लगानी रकमका हिसाबले पर्यटन क्षेत्र अगाडि देखिएको छ ।
