सरकार लोकरिझ्याइँको लागि सेयर बजारलाई ‘बम्प’ गरेर ‘डम्प’ गर्न आएको होइनः अर्थमन्त्री वाग्ले

विज्ञापन
ncell

अर्थमन्त्री वाग्लेले सेयर बजारसम्बन्धी सरकारले लिएको नीतिका कारण पछिल्लो चार महिनामा आफूले व्यापक रुपमा आलोचना र गाली सहनुपरेको समेत बताए ।

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले लोकरिझ्याइँका लागि सेयर बजारलाई कृत्रिम रूपमा उचालेर फेरि गिराउने नीति सरकारको नरहेको बताएका छन् । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नियमन, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर सेयर बजारलाई व्यवस्थित बनाउने नीतिअनुरुप सरकारले काम गरिरहेको बताए ।

उनले सेयर बजारमा हुने गतिविधिलाई स्वच्छ र नियमनकारी संरचनाभित्र राख्दै आम लगानीकर्ताको लगानी सुरक्षित गर्ने सरकारको नीति रहेको बताए । उनले साना लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राखेर नियामकीय सुधारका कामहरु अघि बढाइएको समेत बताए । अर्थमन्त्री वाग्लेले सेयर बजारसम्बन्धी सरकारले लिएको नीतिका कारण पछिल्लो चार महिनामा आफूले व्यापक रुपमा आलोचना र गाली सहनुपरेको समेत बताए । उनले लोकप्रिय भन्दा मुलुकको अर्थतन्त्रमा दीर्घकालीन रुपमा सुधार हुने गरी कार्य भइरहेको समेत बताए । उनले अबको एकहप्तापछि चालु आर्थिक वर्षको बजेटमा सेयर बजारसम्बन्धी घोषणा गरिएका सुधारका विषयहरु कार्यान्वयनको चरणमा प्रवेश गर्ने उनको दाबी छ ।

फरक प्रसंगमा बोल्दै उनले एक सय रुपैयाँमाथिको समानमा भन्सार कर रास्वपा सरकार नलगाएको जिकिर गरे । उनले यसअघिकै सरकारहरुको पालामा बनेको नीतिअनुसार भन्सार महसुल लिँदै आएको बताए । उनले मधेशमा नेपाली नागिरकले भोगिरहेको समस्याबारे सरकार जानकार रहेको भन्दै नागरिकलाई दुःख नदिने र कतिपय कुरामा सरकार उदार हुने बताए । यद्धपी अवैध व्यापार तथा तस्करी नियन्त्रणका लागि निर्ममतापूर्वक प्रस्तुत हुने सरकारको नीति रहेको बताए । मधेशका नागरिकले भोगिरहेको सुरक्षा र सीमा व्यापारको समस्या सम्बोधन गर्न प्रहरी प्रशासन र भन्सार प्रशासनलाई जनमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।