पूर्वी नाकाबाट २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात
तथ्यांकअनुसार भारत र चीनबाट २९ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको स्याउ तथा भारतबाट १४ करोड २४ लाख ८१ हजार रुपैयाँको तरबुजा आयात भएको कार्यालयले जनाएको छ ।
काठमाडौं । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब रुपैयाँभन्दा बढी मूल्यका कृषिजन्य वस्तु नेपाल भित्रिएका छन् । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार आर्थिक वर्ष २०८२र८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी कुल २४ अर्ब २६ करोड ७४ लाख रुपैयाँ बराबरका कृषिजन्य सामग्री आयात भएका हुन् ।
कार्यालयका प्रमुख नन्दकिशोर सिंहका अनुसार आयातित वस्तुमध्ये खाद्यान्न र दलहनको हिस्सा सबैभन्दा बढी छ । भारतबाट मात्रै २४ करोड २३ लाख १३ हजार रुपैयाँ बराबरको चामल तथा १८ करोड ८३ लाख रुपैयाँको कोदो आयात भएको छ ।
त्यस्तै, अष्ट्रेलिया र भारतबाट १८ करोड २७ लाख ९९ हजार रुपैयाँ बराबरको १ हजार ९९६ मेट्रिकटन चना नेपाल भित्रिएको छ । अष्ट्रेलियाबाट मात्रै १० करोड ८८ लाख ५४ हजार रुपैयाँ बराबरको ७९६ मेट्रिकटन मासको दाल आयात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
ताजा तरकारीतर्फ भारतबाट गोलभेडा, काँक्रा, भेडे खुर्सानी र फर्सी ठूलो परिमाणमा आयात भएको छ । एक वर्षमा १४ करोड ३९ लाख ६६ हजार रुपैयाँ बराबरको गोलभेडा, ७ करोड ९० लाख ६४ हजार रुपैयाँको काँक्रा तथा ३ करोड २४ लाख ३५ हजार रुपैयाँ बराबरको खुर्सानी आयात भएको छ ।
फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटहर, तरबुजा र नासपाती मुख्य रूपमा नेपाल भित्रिएका छन् । तथ्यांकअनुसार भारत र चीनबाट २९ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको स्याउ तथा भारतबाट १४ करोड २४ लाख ८१ हजार रुपैयाँको तरबुजा आयात भएको कार्यालयले जनाएको छ ।
