अब भाषण मात्र होइन, बलात्कार सम्बन्धी कडा कानुनको मस्यौदा ल्याओस् सरकार : ज्ञानेन्द्र शाही
यस्ता जघन्य अपराधविरुद्ध सत्तापक्ष र प्रतिपक्ष नभनी एकै ठाउँमा उभिएर कानुन संशोधन गरी संसद्बाट पारित गर्नुपर्नेमा उनले जोड दिएका छन्
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कारपछि हत्या भएका घटनासँग सम्बन्धित प्रचलित कानुन संशोधन गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै नेता शाहीले कानुन संशोधनको मस्यौदा तयार गरी संसद्मा ल्याउन सरकारसँग माग गरेका हुन् । यस्ता जघन्य अपराधविरुद्ध सत्तापक्ष र प्रतिपक्ष नभनी एकै ठाउँमा उभिएर कानुन संशोधन गरी संसद्बाट पारित गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘बलात्कारपछि हत्याको सम्बन्धमा नेपालमा जुन प्रचलित कानुन छ, यसलाई संशोधन गर्नुपर्ने देखियो,’ सरकारलाई अपिल गर्दै उनले भने, ‘कानुनको ड्राफ्ट बनाएर ल्याउनुहोस्, हामी सत्तापक्ष र प्रतिपक्ष नभनिकन यसलाई संशोधन गरौँ र संसद्बाट पास गरौँ । यस विषयमा अब बोल्नुभन्दा पनि सरकारले मस्यौदा लिएर आओस् ।’
फरक प्रसङ्गमा बोल्दै नेता शाहीले विदेशी स्याउको अनियन्त्रित आयातका कारण स्वदेशी स्याउले बजार पाउन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले भदौ र असोज महिनाभरि विदेशबाट स्याउ आयात रोक्न कृषिमन्त्रीसँग आग्रह गरेका छन् । साथै, जुम्लामा स्याउ उत्पादन र बजारीकरणका लागि सरकारले विशेष लगानी गर्नुपर्नेमा उनले जोड दिए ।
