सार्वजनिक प्रशासन फाइलसँग खेल्ने कोठा मात्र होइन, नागरिकको जीवनसँग जोडिएको विषय होः रामेश्वर खनाल
उनले राज्यको कमजोर प्रशासन र अवसरको अभावकै कारण देशका लाखौँ युवा श्रम बेच्न खाडी र मलेसिया जान बाध्य भएको टिप्पणी गरे ।
काठमाडौं । पूर्वअर्थसचिव एवं पूर्वमन्त्री रामेश्वर खनालले सार्वजनिक प्रशासन केवल कर्मचारी र फाइलबीचको प्रक्रिया मात्र नभई लाखौँ सेवाग्राहीको जीवनसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान’ ग्रहण गर्दै उनले सो धारणा राखेका हुन् । नेपाल प्रशासन सङ्घद्वारा आयोजित उक्त सम्मान कार्यक्रममा खनालले प्रशासनिक ढिलासुस्ती र भोलि आउनुस् भन्ने प्रवृत्तिका कारण नागरिकले सास्ती खेप्नुपरेको उल्लेख गरे । उनले राज्यको कमजोर प्रशासन र अवसरको अभावकै कारण देशका लाखौँ युवा श्रम बेच्न खाडी र मलेसिया जान बाध्य भएको टिप्पणी गरे । सार्वजनिक प्रशासनको मुख्य दायित्व संयोगलाई प्रणालीमा रूपान्तरण गर्नु रहेको बताउँदै खनालले व्यक्तिको भविष्य जन्मस्थान वा सामाजिक परिवेशले नभई अवसरको समान पहुँचले निर्धारण गर्नुपर्नेमा जोड दिए ।
