रसुवाको बाढीमा उद्धार र राहतमा सक्रिय हुन रवि लामिछानेको निर्देशन

विज्ञापन
ncell

उनले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अपिल गरेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीबाट उत्पन्न विपद्को घडीमा उद्धार तथा राहत कार्यमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै लामिछानेले प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखी संयमित र जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेका हुन् ।

उनले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अपिल गरेका छन् । विपद्सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन उनले आग्रह गरेका छन् ।

लामिछानेले संवेदनशील अवस्थामा अप्रमाणित सूचना, हल्ला तथा अफवाह सामाजिक सञ्जालमा नफैलाउन समेत अनुरोध गरेका छन् । गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्नुका साथै नागरिकमा अनावश्यक त्रास फैलाउन सक्ने उनको भनाइ छ ।

रास्वपाका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेता तथा कार्यकर्तालाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन लामिछानेले आग्रह गरेका छन् ।