बाढीको पूर्वसूचनामा चीन-नेपाल-भारतबीच समन्वय आवश्यक: हर्कराज राई
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै राईले चीनको तिब्बतबाट आएको बाढीको घटनामा चीनले नेपाललाई समयमै सूचना दियो कि दिएन र नेपालले भारतलाई पूर्वजानकारी गरायो कि गराएन भन्ने विषय संवेदनशील रहेको बताए ।
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विपद् व्यवस्थापनका लागि छिमेकी मुलुकहरूबीच प्रभावकारी सूचना आदान–प्रदानको संयन्त्र निर्माण गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै राईले चीनको तिब्बतबाट आएको बाढीको घटनामा चीनले नेपाललाई समयमै सूचना दियो कि दिएन र नेपालले भारतलाई पूर्वजानकारी गरायो कि गराएन भन्ने विषय संवेदनशील रहेको बताए ।
उनले विकासका नाममा सडक र पुल निर्माणमा मात्र केन्द्रित नभई विपद्का बेला उद्धार तथा राहतका लागि आवश्यक सामग्री, प्रविधि र दक्ष जनशक्तिमा समेत राज्यले लगानी गर्नुपर्नेमा जोड दिए। उद्धारका लागि हेलिकप्टर, एम्बुलेन्स, अत्याधुनिक प्रविधि तथा आवश्यक उपकरणसहित दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
सामाजिक सञ्जालमा आएका सूचनालाई मात्र आधिकारिक मान्न नहुने भन्दै राईले छिमेकी मुलुकहरूबीच औपचारिक र प्रभावकारी सूचना आदान–प्रदानको संयन्त्र आवश्यक रहेको बताए ।
उद्धारमा खटिने टोलीले जमिनको अवस्था तथा पराकम्पनका कारण उत्पन्न चिराहरूलाई समेत ध्यानमा राखी सतर्कतापूर्वक काम गर्नुपर्ने उनले बताए। उद्धारका क्रममा थप क्षति हुन नदिन विशेष सावधानी अपनाउन पनि उनले आग्रह गरे ।
संकटको समयमा सत्ता पक्ष र प्रतिपक्षका रूपमा विभाजित नभई ‘वन टिम, वन नेसन’ को भावनासहित सबै एकजुट भएर उद्धार, राहत र पुनर्स्थापनामा जुट्नुपर्ने राईले बताए ।
