सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्: रवि लामिछाने
लामिछानेले विपद्को समयमा सीमान्तकृत र अल्पसङ्ख्यक समुदाय सबैभन्दा बढी मारमा पर्ने तथ्यतर्फ सरकारको ध्यानाकर्षण गराए ।
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा हुने ‘भीआईपी’ मुभमेन्टले सुरक्षा निकायलाई अतिरिक्त चुनौती थप्ने भन्दै आफ्नो र आफ्नो दलका सांसदहरूका लागि कुनैपनि विशेष सुरक्षा प्रबन्ध नगर्न आग्रह गरेका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले अत्यावश्यक अवस्थाबाहेक आफू कार्यक्षेत्र (फिल्ड)मा नजाने र सरकारलाई प्रभावकारी रूपमा काम गराउन भूमिका खेल्ने स्पष्ट पारे ।
उनले कुनै कारणवश प्रभावित क्षेत्रमा पुग्नुपरेको खण्डमा पनि सुरक्षा वा अन्य कुनैपनि सुविधाको चिन्ता नलिन र प्रशासनलाई आफ्नो काममा बाधा नपुर्याउन आग्रह गरेका छन् । लामिछानेले प्रभावित क्षेत्रमा सञ्चार सेवाको सहजताका लागि सरकारले चालेको कदमको स्वागत गरे । टेलिफोनमा ब्यालेन्स नहुँदा पनि कुराकानी गर्न मिल्ने र डाटा उपलब्ध गराउने विषयमा सरकार सचेत रहेको जानकारी आफूले प्राप्त गरेको उनले बताए ।
लामिछानेले विपद्को समयमा सीमान्तकृत र अल्पसङ्ख्यक समुदाय सबैभन्दा बढी मारमा पर्ने तथ्यतर्फ सरकारको ध्यानाकर्षण गराए । विशेषगरी महिला, गर्भवती, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र दलित समुदाय विपद्बाट बढी प्रभावित हुने गरेको भन्दै राहत र उद्धारमा ती वर्गलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
