बाढीमा परि मृत्यु भएकाहरुको गरगहना लुट्नेलाई कडा कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग
नेता ज्ञानबहादुर शाहीले बाढी-पहिरो जस्तो राष्ट्रिय विपमा परि मृत्यु भएका मृतकको शरीरबाट गरगहना लुट्ने जस्ता अमानवीय कार्यमा संलग्नहरूलाई भिडियो प्रमाणका आधारमा तत्काल पहिचान गरी कडा कारबाही गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बाढी-पहिरो जस्तो राष्ट्रिय विपमा परि मृत्यु भएका मृतकको शरीरबाट गरगहना लुट्ने जस्ता अमानवीय कार्यमा संलग्नहरूलाई भिडियो प्रमाणका आधारमा तत्काल पहिचान गरी कडा कारबाही गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आयोजित सर्वदलीय बैठकमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शाहीले सो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।
शाहीले रसुवा लगायतका क्षेत्रमा बाढीका कारण फसेका नागरिकहरूको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरे । विशेष गरी त्रिशूलीस्थित हाकु २१६ (जेबी) को सुरुङभित्र ३०० भन्दा बढी व्यक्तिहरू फसिरहेको जानकारी दिँदै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए । आज बिहानैदेखि सशस्त्र प्रहरीको हेलिकप्टरमार्फत उद्धार कार्य सुरु भएको र सुरुङमा फसेकाहरूलाई जीवितै उद्धार गर्न निर्देशन दिइएको उनले बताए । नेता शाहीले नेपालका प्रमुख नदीहरूको स्रोत हिमतालहरू रहेको र ती फुट्ने जोखिम सधैँ रहने हुनाले हिमतालहरूको निरन्तर अनुगमन र वैज्ञानिक अध्ययनका लागि एक स्थायी सरकारी निकाय गठन गर्नुपर्ने, विपद् व्यवस्थापनमा सबै दललाई एकै ठाउँमा ल्याउन संसदीय समिति बनाउनुपर्ने, राहत कार्यमा बाधा पुग्ने गरी नेताहरूले कार्यक्षेत्रमा अनावश्यक भिडभाड नगर्न र प्रचारभन्दा सहयोगमा केन्द्रित हुन अपिल समेत गरेका छन् ।
उनले प्रभावित क्षेत्रमा खाद्यान्न र अत्यावश्यक सामग्री ढुवानी गर्न समस्या भइरहेकाले तत्काल काठेपुल, झोलुङ्गे पुल र ट्रस ब्रिजहरू निर्माण गर्नुपर्ने माग गरे । नेता शाहीले यतिबेला कुनै दल वा समूह नभई सिङ्गो देश एकजुट हुनुपर्ने उल्लेख गर्दै सरकारको सकारात्मक कदममा आफूहरूको पूर्ण समर्थन रहने प्रतिवद्धता समेत व्यक्त गरे । उनले राजनीतिक दलभन्दा माथि उठेर सरकारलाई साथ दिनुपर्ने बताएका छन् ।
