बाढीपीडितलाई राहत र पुनःस्थापनामा सहयोग गर्न महासंघको अपिल
नेपाल उद्योग वाणिज्य महासंघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनमा सक्रिय रूपमा जुट्न सम्पूर्ण उद्योगी-व्यवसायी, मातहतका संघसंस्था र सरोकारवालालाई हार्दिक अपिल गरेको छ ।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनमा सक्रिय रूपमा जुट्न सम्पूर्ण उद्योगी-व्यवसायी, मातहतका संघसंस्था र सरोकारवालालाई हार्दिक अपिल गरेको छ ।
महासंघले तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुगेकोप्रति गहिरो चिन्ता व्यक्त गरेको हो । बाढीको प्रभाव त्रिशूली नदी हुँदै मुग्लिन र चितवनसम्म पर्न सक्ने भन्दै महासंघले नदी किनारका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महासंघले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै पक्षसँग आग्रह गरेको छ ।
विपद्मा स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गरी तत्काल प्राथमिकताका साथ उद्धार, खोज तथा राहत कार्यमा जुट्न महासंघले आफ्ना मातहतका सम्पूर्ण जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा उद्योगी-व्यवसायीलाई अनुरोध गरेको छ ।
महासंघले सर्वसाधारणका घर, पसल तथा व्यावसायिक संरचना, निजी तथा सार्वजनिक सवारीसाधन, पुल र जलविद्युत् गृहलगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको जनाएको छ। प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका कार्यमा पनि महासंघले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यसैबीच, प्रभावित क्षेत्रमा खानपान, पिउने पानी, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन गरी पीडित परिवारलाई सुरक्षित रूपमा पुनःस्थापित गर्न सबै पक्षलाई सहयोग गर्न महासंघले अपिल गरेको छ ।
महासंघले विपद्को अवस्थामा मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै सरकार, स्थानीय तह, सुरक्षा निकाय, उद्योगी-व्यवसायी तथा नागरिकबीचको प्रभावकारी समन्वयबाट उद्धार र राहत कार्यलाई तीव्रता दिन आग्रह गरेको छ ।
महासंघले प्रभावित नागरिक, उद्योगी-व्यवसायी तथा स्थानीय समुदायको साथमा रहेको जनाउँदै यस कठिन परिस्थितिमा सबै पक्ष एकताबद्ध भएर उद्धार, राहत तथा पुनःस्थापनाको अभियानमा जुट्नुपर्नेमा जोड दिएको छ ।
