प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा इप्पानद्वारा ५ करोड ५ लाख बढी सहयोग

विज्ञापन
ncell

इप्पानको भदौ ११ गते बसेको आकस्मिक बैठकले बाढी प्रभावितहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । इप्पानको भदौ ११ गते बसेको आकस्मिक बैठकले बाढी प्रभावितहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँ लगायतका जिल्लामा धेरै मानिसले ज्यान गुमाएका छन् । इप्पानले बाढीमा परी ज्यान गुमाउने नागरिक, कर्मचारी र मजदुरहरूप्रति श्रद्धाञ्जली दिँदै घाइतेहरूको छिटो स्वास्थ्य लाभको कामना पनि गरेको छ । बाढीले सञ्चालनमा रहेका र बन्दै गरेका धेरै जलविद्युत आयोजनाहरूमा पनि ठूलो क्षति पुर्‍याएको छ ।

इप्पानले ती आयोजनाहरूको पुनःनिर्माणमा सरकारसँग मिलेर काम गर्ने बताएको छ । इप्पानका अध्यक्ष मोहन कुमार डाँगीका अनुसार, यो सहयोग रकम ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा चेक मार्फत हस्तान्तरण गरिनेछ । अध्यक्ष डाँगीले ऊर्जा क्षेत्र नेपाली जनताको सुख-दुःखसँग जोडिएको भन्दै विपद्को बेला सबै जलविद्युत कम्पनीहरूलाई मिलेर सहयोग गर्न अनुरोध गरेका छन ।