प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब २ अर्ब संकलन

विज्ञापन
ncell

अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न दाता व्यक्ति तथा संस्थाबाट एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग रकम जम्मा भएको हो ।

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आह्वान गरिएको ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।

अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न दाता व्यक्ति तथा संस्थाबाट एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग रकम जम्मा भएको हो । उक्त रकम विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा जम्मा गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाल–चीन सीमा क्षेत्र हुँदै बग्ने भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसलगत्तै पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको हो ।

सरकारले कोषमा रकम संकलन तथा त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम प्रत्यक्ष रूपमा स्वीकार गरिरहेका छन् ।

व्यक्तिगततर्फको नगद सहयोग भने दाताहरूले अर्थ मन्त्रालयमै पुगेर उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ ।

नयाँ सहयोग रकम थपिएसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको कुल बचत रकम चार अर्ब नौ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ । यसअघि कोषमा दुई अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ रुपैयाँ बचत रहेको थियो ।

यस्तै, बिहीबार मात्र छ घण्टाको अवधिमा नेपालका निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको मन्त्रालयले जनाएको छ। कोषमा हालसम्म संकलन भएको उक्त रकममा विभिन्न मित्रराष्ट्रहरूले घोषणा गरेको सहायता रकम भने समावेश गरिएको छैन ।