रसुवा बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन, कोषमा १ करोड सहयोग
एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्ने उद्देश्यले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत १ करोड रुपैयाँ सहयोग गरेको थियो ।
काठमाडौं । एनसेलले रसुवा बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज तथा उद्धार र राहत वितरणका कार्यलाई सहज बनाउन उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप ७ दिनका लागि विस्तार गरेको छ ।
कम्पनीका अनुसार भोलि शनिबारदेखि लागू हुने गरी प्रभावित क्षेत्रमा थप एक सातासम्म निःशुल्क डेटा, अन-नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस सेवा उपलब्ध हुनेछ ।
यसअघि बुधबार एनसेलले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवाका क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अन-नेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त तीनदिने अवधि आज समाप्त हुँदै गर्दा कम्पनीले सेवाको अवधि थप गरेको हो ।
विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत वितरणका कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले सेवा विस्तार गरिएको एनसेलले जनाएको छ । यसबाट प्रभावित क्षेत्रका सर्वसाधारणलाई परिवार, आफन्त तथा उद्धार र राहतमा खटिएका टोलीसँग सम्पर्कमा रहन सहज हुने अपेक्षा कम्पनीको छ ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले विपद्को समयमा प्रभावित समुदाय तथा उद्धार र राहतमा खटिएका टोलीलाई आवश्यक सञ्चार तथा समन्वयमा सहयोग पुगोस् भन्ने उद्देश्यले निःशुल्क सेवा विस्तार गरिएको बताए ।
एनसेलले बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका आफ्ना १८ वटा मोबाइल टावर पुनःसञ्चालनमा ल्याएको जनाएको छ । अन्य ९ वटा प्रभावित टावर पुनःसञ्चालनका लागि पनि आवश्यक काम भइरहेको कम्पनीले जनाएको छ ।
विपद्का समयमा सञ्चार सेवा निरन्तर सञ्चालनमा राख्दै आपतकालीन खोज, उद्धार तथा राहतका कार्यमा सहयोग पुर्याउँदै आएको एनसेलले जनाएको छ । यसैबीच, एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्ने उद्देश्यले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत १ करोड रुपैयाँ सहयोग गरेको थियो ।
कम्पनीले बाढी प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षित रहन तथा सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ। साथै, एनसेलले एसएमएस तथा आफ्ना सामाजिक सञ्जालका पेज र अकाउन्टमार्फत प्रभावित क्षेत्रका नागरिकलाई आवश्यक सूचना सम्प्रेषण गर्दै आएको एको छ ।
