रसुवा बाढीपहिरोको उद्धार तीव्र बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

विज्ञापन
ncell

नेता आङदेम्बेले प्रधानमन्त्रीलाई भेटेका हुन् । भेटका क्रममा उनले बाढी प्रभावित क्षेत्रका बासिन्दाको अवस्था र राज्यका तर्फबाट भइरहेका कार्यहरूबारे जानकारी गराए ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले रुिवा बाढी र पहिरोले पुर्‍याएको क्षति तथा उद्धार कार्यका विषयमा प्रधानमन्त्री बालेन्द्र साहको ध्यानाकर्षण गराएका छन् । शनिबार प्रधानमन्त्री निवासमा भएको भेटमा नेता आङदेम्बेले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा बाढीपहिराका कारण सिर्जित अकल्पनीय अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराएका हुन् ।

प्रभावित क्षेत्रको स्थलगत अनुगमन र स्थानीय नागरिक तथा प्रशासनसँगको छलफलपछि नेता आङदेम्बेले प्रधानमन्त्रीलाई भेटेका हुन् । भेटका क्रममा उनले बाढी प्रभावित क्षेत्रका बासिन्दाको अवस्था र राज्यका तर्फबाट भइरहेका कार्यहरूबारे जानकारी गराए । विशेषगरी रसुवास्थित अपर त्रिशूली आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा भइरहेको ढिलाइप्रति उनले चासो व्यक्त गरे ।

उनले मौसम प्रतिकूल रहे पनि उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी उद्धार कार्यलाई तिब्रता दिनुपर्नेमा जोड दिए । जवाफमा प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा उद्धारका लागि पहल भइरहेको र छिट्टै कार्य अगाडि बढ्ने आश्वासन दिएको नेता आङदेम्बेले सञ्चारकर्मीहरूलाई जानकारी दिए । नेता आङदेम्बेले शुक्रबार मात्रै प्रभावित क्षेत्रको निरीक्षण गरी त्यहाँका पीडित परिवार र स्थानीय प्रशासनसँग वस्तुस्थितिबारे जानकारी लिएका थिए ।