प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेट गरेर आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनस्र्थापनाका सरकारलाई १० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेट गरेर आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण पछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ढकालले आइएमईले संसारभरबाट सहयोग रकम नेपाल पठाउन निःशुल्क रेमिट्यान्स सुविधा उपलब्ध गराएको समेत जानकारी दिए । उनकाअनुसार विश्वका जुनसुकै देशबाट पनि प्रधानमन्त्री राहत कोषमा १० सेप्टेम्बरसम्म निःशुल्क रकम पठाउन सकिनेछ । उनले हालसम्म करिव २० हजार कारोबारमार्फत विदेशबाट प्रधानमन्त्री राहत कोषमा करिब १६ करोड रुपैयाँ जम्मा भइसकेको बताए । सेप्टेम्बर १० सम्म रेमिट्यान्समार्फत करिब ५० करोड रुपैयाँ सहयोग रकम आउने अपेक्षा गरिएको उनको भनाइ छ । उनले बाढीबाट सिर्जित विपद् गम्भीर रहेको भन्दै सरकारलाई सहयोग गर्दै उद्धार तथा राहतका काममा अघि बढ्न निजी क्षेत्र र आम नागरिकलाई आग्रह गरे ।
अध्यक्ष ढकालले विपद्का बेला उद्धार, घाइतेको उपचार, राहत तथा शव व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताए । आइएमई ग्रुपले अकल्पनीय विपतमा बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूका लागि खाद्यान्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको हो ।
