विपद्मा परि कागजात गुमाएका ग्राहकलाई कागजात बिना नै बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

विज्ञापन
ncell

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका सबै बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै विपद्बाबाट प्रभावित ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउन सहजीकरण गर्न भनेको छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्का कारण चेक, एटीएम कार्ड, मोबाइल फोन तथा अन्य परिचय खुल्ने कागजात गुमाएका नागरिकलाई बैंकिङ सेवा सहज रूपमा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई विशेष निर्देशन दिएको छ ।

हालै रसुवालगायत विभिन्न जिल्लामा आएको प्राकृतिक विपद्का कारण ठूलो संख्यामा सर्वसाधारणले बैंकिङ कारोबारका लागि आवश्यक कागजात तथा उपकरण गुमाएका छन्। यस्तो अवस्थामा बैंकिङ सेवाबाट प्रभावित नहुन् भन्ने उद्देश्यले राष्ट्र बैंकले ग्राहक पहिचान प्रक्रियामा आवश्यक लचकता अपनाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका सबै बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै विपद्बाट प्रभावित ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउन सहजीकरण गर्न भनेको छ ।

निर्देशनअनुसार ग्राहकले आफ्नो चेक वा एटीएम कार्ड गुमाएको अवस्थामा पनि बैंकमा पहिले नै सुरक्षित रहेको हस्ताक्षरको नमुना, ग्राहकको फोटो तथा संस्थामा उपलब्ध अन्य व्यक्तिगत विवरणका आधारमा ग्राहकको पहिचान यकिन गरी बैंकिङ सेवा प्रदान गर्नुपर्नेछ ।

यस व्यवस्थाले विपद्का कारण आवश्यक कागजात तथा कार्ड गुमाएका सेवाग्राहीलाई पुनः बैंकिङ पहुँचमा ल्याउन तथा अत्यावश्यक वित्तीय कारोबार सहज बनाउन सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ ।