विपद् प्रभावित क्षेत्रमा लघुवित्तका शाखा पूर्वस्वीकृति बिना नै स्थानान्तरण गर्न सकिने
यसरी बिना पूर्वस्वीकृति शाखा स्थानान्तरण वा समायोजन गरेपछि त्यसको जानकारी भने अनिवार्य रूपमा राष्ट्र बैंकलाई दिनुपर्नेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा लघुवित्त वित्तीय संस्थाका शाखा तथा कार्यालयलाई पूर्वस्वीकृतिबिनै स्थानान्तरण वा नजिकको शाखामा समायोजन गर्न सकिने व्यवस्था गरेको छ । बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले घ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन-परिमार्जन गर्दै नयाँ व्यवस्था थप गरेको हो ।
नयाँ व्यवस्था अनुसार, वि.सं. २०८३ भदौ महिनामा आएको प्राकृतिक विपदका कारण रसुवा लगायतका प्रभावित क्षेत्रमा भौतिक क्षति पुगेका वा सञ्चालन गर्न असहज भएका लघुवित्त वित्तीय संस्थाहरूले सेवा सुचारु गर्ने प्रयोजनका लागि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनु पर्ने छैन । संस्थाहरूले आफ्नै निर्णयमा प्रभावित शाखालाई स्थानान्तरण गर्न वा नजिकैको अर्को शाखामा समायोजन गर्न सक्नेछन् ।
यसरी बिना पूर्वस्वीकृति शाखा स्थानान्तरण वा समायोजन गरेपछि त्यसको जानकारी भने अनिवार्य रूपमा राष्ट्र बैंकलाई दिनुपर्नेछ । संशोधित व्यवस्थामा भनिएको छ र यसरी शाखा स्थानान्तरण वा समायोजन भएको ७ दिनभित्र यस बैंकलाई जानकारी दिनुपर्नेछ ।
