बाढी प्रभावित विदेशी पर्यटकका परिवारलाई निःशुल्क भिसा दिन सांसदहरूको माग

विज्ञापन
ncell

पर्यटक धेरै प्रभावित भएको क्षेत्रमा स्मारक निर्माण गर्दा सम्बन्धित देशसँग नेपालको दीर्घकालीन आत्मीयता कायम गर्न सहयोग पुग्ने उनको भनाई छ ।

काठमाडौं । रसुवा बाढीमा परी सम्पर्कविहीन भएका तथा ज्यान गुमाएका विदेशी पर्यटकका परिवारलाई नेपालमा आउन र बस्न निशुल्क व्यवस्था गर्न सांसदहरुले माग गरेका छन् । बुधवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुले सरकारसँग उक्त माग गरेका हुन् । सांसदहरुले उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्दै प्रभावित पर्यटकका परिवारलाई सहज सूचना दिन तथा आवश्यक सेवा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदिश खरेलले प्रभावित विदेशी पर्यटकका परिवारलाई नेपालमा निःशुल्क बसोबास, यातायात र भिसाको व्यवस्था गर्न सरकार तथा निजी क्षेत्रसँग आग्रह गरे । विदेशी पर्यटकका मृतक तथा बेपत्ता परिवारलाई लक्षित गरी सरकारले तत्कालै निःशुल्क भिसा र आवश्यक आतिथ्य सेवाको घोषणा गर्नुपर्ने उनको भनाई छ । यसले विपद्का बेला नेपालले पर्यटकप्रति मानवीयता र आतिथ्यता देखाएको सकारात्मक सन्देश अन्तर्राष्ट्रियस्तरमा जाने उनले बताए । रसुवामा विदेशी तथा नेपाली मृतक र बेपत्ताको स्मरणमा ‘टुरिस्ट मेमोरियल पार्क’ वा स्मारक निर्माण गर्न पनि उनले सरकारसँग माग गरे ।

पर्यटक धेरै प्रभावित भएको क्षेत्रमा स्मारक निर्माण गर्दा सम्बन्धित देशसँग नेपालको दीर्घकालीन आत्मीयता कायम गर्न सहयोग पुग्ने उनको भनाई छ । उनले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिलाई अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्तिको विषयका रूपमा उठाउनुपर्ने बताए । नेपाली काँग्रेसका सांसद सन्दिप रानाले विदेशी पर्यटकका परिवारहरू आफ्ना आफन्तको खोजीका लागि विभिन्न ठाउँमा भौंतारिनुपरेको बताए । उनले एउटै स्थानबाट सबै सूचना उपलब्ध हुने गरी ‘वन प्वाइन्ट हेल्प डेस्क’ स्थापना गर्न माग गरे । हराएका विदेशी पर्यटकसँग सम्बन्धित टुर अपरेटरहरूलाई समेत एकै ठाउँमा बोलाएर समन्वय गर्नुपर्ने उनको भनाई छ । टुर अपरेटरहरूले समेत घटनाबारे पर्याप्त सूचना नपाउँदा पीडित परिवार थप आतंकित भएको उनले बताए ।

उनले विदेशी पर्यटकका परिवारलाई निःशुल्क भिसा उपलब्ध गराउनुपर्ने तथा उनीहरू नेपालमा रहँदा होटल, यातायात र सम्बन्धित स्थानमा पुग्न आवश्यक सेवा टुर अपरेटरमार्फत निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । बाढीका कारण नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव कम गर्न पर्यटन तथा परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई नेपालको वास्तविक अवस्था र उद्धार तथा पुनःस्थापनाका प्रयासबारे जानकारी गराउनुपर्ने उनको भनाई छ । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विपद्लाई जलवायु कूटनीति र जलवायु न्यायसँग जोडेर अन्तर्राष्ट्रियस्तरमा उठाउनुपर्ने बताए ।

उनले नेपालसंग अन्तर्राष्ट्रिय तथा क्रस-बोर्डर सूचनाको अभाव देखिएकाले समन्वय गर्नुपर्नेमा पनि उनले जोड दिए । उनले नेपालमा पर्यटन प्रर्वद्धनको लागि विदेशी कुटनीतिक नियोग तथा कन्सुलर प्रतिनिधिलाई बोलाएर सरकारले घटनाको अवस्थाबारे जानकारी दिनुपर्ने बताए । अन्तर्राष्ट्रिय सञ्चारका लागि अंग्रेजी भाषासँगै फ्रेन्च र स्पेनिस भाषामा समेत पछिल्ला अपडेट सार्वजनिक गर्नुपर्ने उनको भनाई छ । उनले मानसरोवर जाने तीर्थयात्रीलाई लक्षित गर्दै चीनको क्षेत्रीय विमानस्थलसँग समन्वय गरी नेपालबाट नियमित उडान सञ्चालन गर्न सकिएमा त्यसले पर्यटन पुनरुत्थानमा योगदान पुग्ने बताए । बाढीमा मृत्यु भएका तथा बेपत्ता विदेशी पर्यटकको पहिचानका लागि डीएनएलगायत प्राविधिक प्रक्रिया प्रभावकारी बनाउनुपर्ने तथा शवको सुरक्षित व्यवस्थापन र विदेशी नागरिकको स्वदेश फिर्ती (रिप्याट्रिएसन) सहज बनाउन विशेष व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

बैठकमा सांसदहरुले बाढीमा परि वेपत्ता भएकोहरुको खोजी तथा उद्धारमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । ग्लोवल वार्मिङ, हिमताल विस्फोट तथा जलवायुजन्य विपद्को जोखिम आगामी दिनमा थप बढ्नेतर्फ पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । विपद् न्युनिकरणको लागी सरकार, निजी क्षेत्र र समग्र नेपाली समाज एकजुट भएर लाग्नुपर्ने उनीहरुको भनाई छ । साथै जलवायु न्याय तथा क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन पनि एकजुट हुनुपर्नेमा उनीहरुले जोड दिए ।