विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा

विज्ञापन
ncell

सांसद झाले प्रधानमन्त्रीले संसदमा राहत र उद्धारका सम्बन्धमा बुँदागत रूपमा स्पष्ट पारेको उल्लेख गर्दै कतिपय प्राविधिक कारणले पनि परिणाम देखिन समय लागेको बताए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले बाढी, पहिरो र डुबानपछिको राहत तथा उद्धार कार्यमा सरकारको प्रभावकारितालाई लिएर अहिले नै कुनै नकारात्मक निष्कर्षमा पुग्न हतार नगर्न आग्रह गरेका छन् । बुधबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद झाले सरकारका कमी-कमजोरीमाथि प्रश्न उठ्नु जायज भएपनि सबै संयन्त्र असफल भइसकेको भन्नु न्यायोचित नहुने बताएका हुन् ।

सांसद झाले प्रधानमन्त्रीले संसदमा राहत र उद्धारका सम्बन्धमा बुँदागत रूपमा स्पष्ट पारेको उल्लेख गर्दै कतिपय प्राविधिक कारणले पनि परिणाम देखिन समय लागेको बताए । सरकारको नियत र इमान्दारितामा प्रश्न उठाउने ठाउँ नरहेको जिकिर गर्दै उनले विपद्को समयमा सबै राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

झाले रास्वपा सभापतिले सर्वदलीय संयन्त्र, संसदीय समिति वा सक्रिय कार्यदल बनाएर अघि बढ्न प्रस्ताव गरेको र यसबारे छलफल भइरहेको जानकारी दिए । उद्धार कार्यमा गृहमन्त्रीको सक्रियतालाई लिएर उठेका प्रश्नहरूको सन्दर्भमा सांसद झाले यो काम गर्ने आफ्नो-आफ्नो शैली भएको टिप्पणी गरे ।