भोटेकोशी बाढीपीडितको राहतमा बैंकिङ क्षेत्र, १८ बैंकले दिए ४३ करोडभन्दा बढी सहयोग

विज्ञापन
ncell

हालसम्म १४ वटा वाणिज्य बैंक र चार वटा विकास बैंकले गरी ४३ करोड २४ लाख ११ हजार रुपैयाँ सरकारलाई सहयोग गरेका छन् ।

काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि बैंक तथा वित्तीय संस्थाले ४३ करोड रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।

हालसम्म १४ वटा वाणिज्य बैंक र चार वटा विकास बैंकले गरी ४३ करोड २४ लाख ११ हजार रुपैयाँ सरकारलाई सहयोग गरेका छन् । यसमध्ये वाणिज्य बैंकले ४१ करोड १४ लाख ११ हजार रुपैयाँ र विकास बैंकले २ करोड १० लाख रुपैयाँ सहयोग गरेका हुन् ।

वाणिज्य बैंकतर्फ ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी ५ करोड रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ करोड १ लाख रुपैयाँ तथा एनएमबी बैंकले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी, प्राइम कमर्सियल बैंक र हिमालयन बैंकले ३–३ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् । कुमारी बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकले ३–३ करोड रुपैयाँ उपलब्ध गराएका छन् ।

त्यस्तै, सिद्धार्थ बैंक र एभरेस्ट बैंकले २–२ करोड ५१ लाख रुपैयाँ, सानिमा बैंकले २ करोड २५ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले २ करोड २१ लाख रुपैयाँ, प्रभु बैंकले २ करोड ११ लाख ११ हजार रुपैयाँ र माछापुच्छ्रे बैंकले २ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

हालसम्मको विवरणअनुसार लक्ष्मी सनराइज, स्टाण्डर्ड चार्टर्ड, नेपाल एसबिआईलगायत केही बैंकले भने सहयोग घोषणा गरेका छैनन् ।

विकास बैंकतर्फ सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकले ५० लाख रुपैयाँ र कामना सेवा विकास बैंकले २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले विशेषगरी रसुवालगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । विपद्पछि प्रभावितको खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका काम जारी छन् ।