बेनी हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

विज्ञापन
ncell

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ६३ हजार २०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । 

कम्पनीले यस चरणमा ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको छ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरसमेत बाँडफाँट भइसकेको छ । ती समूहमा सेयर बाँडफाँटपछि बाँकी रहेको सेयर अहिले सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

कम्पनीको आईपीओमा आजदेखि भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि असोज ५ गतेसम्म कायम रहनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ‘इक्रा आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यसको अर्थ समयमै वित्तीय दायित्व बहन गर्ने मामिलामा कम्पनीमा मध्यम जोखिम रहेको जनाउछ ।