तरलता व्यवस्थापन गर्न २ महिनाका लागि ३५ अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक
यसका लागि केन्द्रीय बैंकले सोमबार अपराह्न ३ बजे अनलाइन बोलकबोलमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरूबाट प्रस्ताव आह्वान गरेको छ। निक्षेप संकलन उपकरणमार्फत उठाइने यो रकमको ब्याजदर बोलकबोल प्रक्रियाबाटै तय हुनेछ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाबाट दुई महिनाका लागि ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ । यसका लागि केन्द्रीय बैंकले सोमबार अपराह्न ३ बजे अनलाइन बोलकबोलमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरूबाट प्रस्ताव आह्वान गरेको छ। निक्षेप संकलन उपकरणमार्फत उठाइने यो रकमको ब्याजदर बोलकबोल प्रक्रियाबाटै तय हुनेछ ।
प्रक्रियाअनुसार सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम १० करोडको गुणांकमा आफूले राख्न चाहेको रकम र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। प्राप्त बोलकबोल स्वीकृत भएपछि सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खाताबाट रकम कट्टा गरी छुट्टै खातामा जम्मा गरिनेछ, जसको सावाँ तथा ब्याज भुक्तानी २०८३ कात्तिक २० गते हुनेछ । समान ब्याजदरमा मागभन्दा बढी रकमको प्रस्ताव आएमा समानुपातिक आधारमा बाँडफाँट गरिने व्यवस्था छ।
यसरी संकलित रकम बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा गणना हुने भए पनि अनिवार्य नगद मौज्दातमा राख्न पाइने छैन । यद्यपि, वैधानिक तरलता अनुपात तथा अन्य तरलता अनुपातमा भने यसलाई गणना गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले वित्तीय बजारमा सन्तुलन कायम राख्न समय-समयमा यस्ता अल्पकालीन निक्षेप संकलन उपकरणहरू प्रयोग गर्दै आएको छ ।
