बुबा र परिवारको सुरक्षाको माग गर्दै पूर्वप्रधानन्यायाधीश राणाका छोराले दिए प्रहरीमा निवेदन
निवेदनमा ‘आवश्यक शान्ति सुरक्षाको व्यवस्था गरी पाऊँ’ भन्ने विषय उल्लेख गरिएको छ । निवेदनको अन्त्यमा सचिन्द्रले आफूलाई राणाको छोरा भएको उल्लेख गर्दै हस्ताक्षर गरेका छन् ।
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको जिउज्यान तथा परिवारको सुरक्षामा चुनौती देखिएको भन्दै उनका छोरा सचिन्द्र शमशेर जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिएका छन् । सचिन्द्रले आइतबार प्रहरी कार्यालयमा दर्ता गराएको निवेदनमा देशको पछिल्लो अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका सुरक्षा सम्बन्धी विषयका कारण आफ्नो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख गरेका छन् ।
निवेदनमा पूर्वप्रधानन्यायाधीशका रूपमा राणाले निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखको हैसियतमा गरेका न्यायिक निर्णयका कारण समेत थप असुरक्षाको महसुस भएको जनाइएको छ । सचिन्द्रले केही विषयमा प्रहरी कार्यालयमा आएपछि जानकारी पाएको उल्लेख गर्दै आफूलाई थप सुरक्षा उपलब्ध गराउन माग गरेका छन् । उनले राणाको सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारी नै रहेको भन्दै निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुग्नुपर्ने बताएका छन् ।
निवेदनमा ‘आवश्यक शान्ति सुरक्षाको व्यवस्था गरी पाऊँ’ भन्ने विषय उल्लेख गरिएको छ । निवेदनको अन्त्यमा सचिन्द्रले आफूलाई राणाको छोरा भएको उल्लेख गर्दै हस्ताक्षर गरेका छन् ।