साताको पहिलो दिन नेप्से १६.४७ अंक घट्यो, कारोबार रकम पनि खुम्चियो

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो ।

काठमाडौं ।  साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो । सोमबार नेप्से परिसूचक १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । गत बिहीबार ५ अर्ब ४४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५७ स्टकको ५८ हजार ५०० पटकको कारोबारमा ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

१० प्रतिशत केबिएल डिबेञ्चर २०९० को मूल्य यस दिन सर्वाधिक १२.१७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२ को मूल्य १० प्रतिशत बढेको छ भने ६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर, २०९३ को मूल्य करिब ९ प्रतिशत बढेको छ । कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १०.५८ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यर दिन ३८ करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको कारोबार रकम साढे २९ करोड रुपैयाँ नाघेको छ भने हाथवे इन्भेष्टमेन्टको करिब २० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो । कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।