शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दो, डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो

यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्म कारोबारका लागि ट्रेडिङ खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजारभन्दा बढी पुगेको छ।

काठमाडौं । नेपालको पुँजी बजारमा लगानीकर्ताको पहुँच पछिल्लो समय थप विस्तार हुँदै गएको देखिएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले संघीय संसद्को अर्थ समितिमा प्रस्तुत गरेको विवरणअनुसार देशभर डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९५ हजार पुगेको छ ।

अध्यक्ष भट्टका अनुसार हालसम्म ५१ लाख २२ हजारभन्दा बढी लगानीकर्ताले ‘मेरो सेयर’ खाता सक्रिय गरिसकेका छन् । यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्म कारोबारका लागि ट्रेडिङ खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजारभन्दा बढी पुगेको छ।

पुँजी बजारमा संस्थागत रूपमा परिचालन भएको पुँजीमध्ये साधारण सेयरको हिस्सा सबैभन्दा ठूलो रहेको बोर्डले जनाएको छ । कुल पुँजी परिचालनमा साधारण सेयरको हिस्सा ४६.२६ प्रतिशत छ । त्यस्तै, संस्थागत ऋणपत्रको हिस्सा ३१.०३ प्रतिशत र सामूहिक लगानी कोषको हिस्सा १४.८१ प्रतिशत रहेको छ ।

यसैगरी विशिष्टीकृत लगानी कोषको हिस्सा ५.१७ प्रतिशत तथा अग्राधिकार सेयरको हिस्सा २.१७ प्रतिशत रहेको छ । बोर्डले हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई कुल ४८ अर्ब २५ करोड रुपैयाँ बराबरको पुँजी परिचालनका लागि स्वीकृति दिएको अध्यक्ष भट्टले जानकारी दिए ।

दोस्रो बजारतर्फ हेर्दा असोज १३ गतेसम्म नेप्से परिसूचक २६०३.७१ बिन्दुमा कायम रहेको छ। सोही अवधिमा धितोपत्र बजारको कुल बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको बोर्डले जनाएको छ ।

पुँजी बजारले सरकारको राजस्वमा पनि उल्लेख्य योगदान गर्दै आएको छ। गत आर्थिक वर्षमा धितोपत्र बजारबाट १५ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्षको भदौ मसान्तसम्म मात्रै बजारबाट १ अर्ब ५४ करोड रुपैयाँ राजस्व उठिसकेको छ ।

बोर्डका अनुसार गत आर्थिक वर्षमा ५२ वटा संस्थालाई कुल ७९ अर्ब ७३ करोड रुपैयाँ बराबरको पुँजी परिचालन गर्न अनुमति दिइएको थियो । चालु आर्थिक वर्षको असोजसम्म थप चारवटा संस्थालाई ४ अर्ब ६० करोड रुपैयाँ बराबरको पुँजी परिचालन स्वीकृति दिइसकिएको अध्यक्ष भट्टले अर्थ समितिलाई जानकारी गराएका छन् ।