नेप्से ४.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ७६ करोड

बुधबार नेप्से परिसूचक ४ दशमलव ८२ अंक अर्थात् शून्य दशमलव १८ प्रतिशतले घटेर २५९८.८९ विन्दुमा झरेर बन्द भएको छ ।

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक ४ दशमलव ८२ अंक अर्थात् शून्य दशमलव १८ प्रतिशतले घटेर २५९८.८९ विन्दुमा झरेर बन्द भएको छ ।

दिनभरको नेप्सेका १ करोड २६ लाख ५५ हजार ३ सय ७४ कित्ता सेयर ४७ हजार ९ सय पटक खरिदबिक्री हुँदा कुल ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज समग्र बजारमा १ सय ९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५७ कम्पनीको मूल्य घटेको छ भने १३ वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन आएन ।

उपसमूहगत परिसूचकतर्फ हेर्दा आज अधिकांश समूहमा रातो देखिएको छ। १३ वटा उपसमूहमध्ये व्यापार, म्युचुअल फण्ड र जलविद्युत समूहका सूचकहरू क्रमशः १ दशमलव १८, शून्य दशमलव २५ र शून्य दशमलव ०१ प्रतिशतले बढेका छन् ।

बाँकी १० वटा समूहको सूचक ओरालो लाग्दा सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूह शून्य दशमलव ५४ प्रतिशत र विकास बैंक उपसमूह शून्य दशमलव ५० प्रतिशतले घटेका छन् । साथै बैंकिङ, जीवन तथा निर्जीवन बिमा, फाइनान्स, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहका सूचकहरूमा पनि गिरावट आएको छ ।

बजार घटे पनि आज सिन्धु विकास बैंकका सेयरधनीहरूले सर्वाधिक कमाएका छन् । यस बैंकको सेयर मूल्य १४.३७ प्रतिशतले बढेर प्रतिकित्ता ४४४ रुपैयाँ ९० पैसा पुगेको छ ।

त्यस्तै सुपर मादी हाइड्रोपावरको मूल्य ८.४१ प्रतिशत र घलेम्दी हाइड्रोपावरको ७.३१ प्रतिशतले उकालो लागेको छ । यता सानिमा ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ३.७८ प्रतिशत गुमाएका छन् भने चिरख्वा खोला हाइड्रोपावर, सोपान फर्मासिटिकल्स, र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्य पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आजको कारोबारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको सर्वाधिक ३९ करोड ४८ लाख रुपैयाँ बराबरको १४ लाख ८२ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएको छ ।

यसैगरी पिपुल्स हाइड्रोपावरको २२ करोड ८३ लाख, मञ्जुश्री फाइनान्स संस्थापकको १८ करोड ७२ लाख, शिवम सिमेन्टको १५ करोड २८ लाख र सिद्धार्थ बैंकको १४ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।